Techie IT
२०८२ जेष्ठ १७, शनिबार

बजेट विमर्श

किन बढ्यो वृद्धभत्ता पाउने उमेर ?

पञ्जीकरण विभागको तथ्यांकअनुसार दुई वर्ष उमेर घटाउँदा मात्रै वृद्धभत्तामा करिब २० अर्ब रुपैयाँ थप खर्च भएको थियो ।


Reprsentative Image

सरकारले तीन वर्षको छोटो अवधिमा नै वृद्धभत्ता पाउने न्यूनतम उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष कायम गर्ने निर्णय गरेको छ ।

यसअघि वृद्धभत्ता पाउन योग्य उमेर ६८ वर्ष कायम थियो भने अब सरकारले आगामी एक वर्षभित्र यो उमेर ७० पुर्‍याउने कार्ययोजना मन्त्रिपरिषद बैठकमा स्वीकृत गरेको छ । वृद्धभत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमहरूको खर्च निरन्तर बढिरहेकोले यसबारे सरोकारवालाहरूले समेत चिन्ता व्यक्त गर्दै आएका थिए ।

नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वमा रहेका पूर्व सरकारले निर्वाचनको पूर्वसन्ध्यामा वृद्धभत्ताको भत्ता बढाउने र उमेर घटाउने नीति ल्याएका थिए । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतीकरणका क्रममा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता ३३ प्रतिशतले वृद्धि गर्दै चार हजार रुपैयाँ पुर्‍याएका थिए भने एमालेले वृद्धभत्ता ५ हजारसम्म पुर्‍याउने वाचा गरेको थियो ।

पछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ताको उमेर घटाउने तयारी गरेको बेला पार्टीका धेरै नेताहरूले विरोध जनाए पनि अन्ततः आर्थिक वर्ष २०७९/८० को बजेटमा वृद्धभत्ताको उमेर ६८ वर्ष कायम गरिएको थियो । पञ्जीकरण विभागको तथ्यांकअनुसार दुई वर्ष उमेर घटाउँदा मात्रै वृद्धभत्तामा करिब २० अर्ब रुपैयाँ थप खर्च भएको थियो ।

तर अहिलेको कांग्रेस–एमालेको सरकारले उक्त उमेर फेरि बढाउने निर्णय गरेको छ । वृद्धभत्ताको न्यूनतम उमेर बढाउने सिफारिस उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेको थियो । आयोगले वृद्धभत्ता ७० वर्ष पुर्‍याउने र आगामी पाँच वर्षसम्म भत्ता नबढाउने सिफारिस पनि गरेको थियो ।

त्यस्तै, दलित तथा एकल महिलाले पाउने भत्ताको उमेर पनि ६० वर्षबाट ६५ वर्ष पुर्‍याउने सिफारिस गरिएको छ । अन्य सामाजिक सुरक्षा भत्ताको उमेर भने हाल यथावत् राखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट