आन्तरिक द्वन्द्वबीच काठमाडौंले ल्यायो २५ अर्बको बजेट, उपमेयरले मागिन् माफी
महानगरको कुल बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट खर्च हुने अनुमान छ भने ६५ करोड रुपैयाँ बाह्य स्रोतबाट जुटाइने छ

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन् ।
महानगरको कुल बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट खर्च हुने अनुमान छ भने ६५ करोड रुपैयाँ बाह्य स्रोतबाट जुटाइने छ ।
बजेट सार्वजनिक गर्नुअघि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यद्यपि, संवैधानिक प्रावधानअनुसार असार १० भित्र बजेट ल्याइसक्नुपर्ने भए पनि आन्तरिक विवादका कारण बजेट ढिलो भएको हो । सो विषयमा उपप्रमुख डंगोलले नगरसभाबाट माफी समेत मागिन् ।
महानगरको अर्को नगरसभा बैठक असार ३२ गते दिउँसो २ बजे बस्नेछ । सो बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को प्रगति समीक्षा, नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रमसहित आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक–२०८२ माथि छलफल तथा पारित गर्ने तयारी गरिएको छ ।
नगरसभा सञ्चालन ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम सोही बैठकमा आगामी निर्णय लिने तयारी गरिएको मेयर शाहले बैठकमा जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस