भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति घोषणा
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीहरूको शिक्षा जोगाउन सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सोमबार आयोजित विशेष कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलले यो महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका हुन्। सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै निजी विद्यालय सञ्चालकका छाता सङ्गठन र विभिन्न गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत करिब एक हजार बाढीपीडित विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइनेछ।
योजनाअनुसार प्रभावित विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खानालगायतका सम्पूर्ण सुविधा प्रदान गरिनेछ। बाढीका कारण विद्यालय जान वञ्चित भएका, आर्थिक रूपमा विपन्न, परिवारका सदस्य गुमाएका वा सम्पर्कविहीन भएका तथा विशेष सुरक्षा आवश्यक पर्ने बालबालिकालाई प्राथमिकतामा राखिनेछ।
कार्यक्रममा मन्त्री पोखरेलले विपद्को यस घडीमा निजी शैक्षिक संस्थाहरूले देखाएको सामाजिक उत्तरदायित्व र सहकार्यको उच्च प्रशंसा गरेका थिए। उनले भने, “सहयोगी हातहरू फैलिएको देख्दा राज्य एक्लो छैन भन्ने महसुस भएको छ। यस्तो बेलामा राज्य बलियो भएर उभिनुपर्छ।”
निजी क्षेत्रका अग्रणी संस्था प्याब्सन, एनप्याब्सन, हिसान, एपिन र मन्टेश्वरी एसोसिएसन नेपालसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। हिसानका अध्यक्ष युवराज शर्मा र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
प्रभावित विद्यार्थीको पहिचान स्थलगत सर्वेक्षण, विद्यालय, सम्बन्धित वडा कार्यालय र स्थानीय तहको सिफारिसका आधारमा पारदर्शी ढङ्गले गरिने मन्त्रालयले जनाएको छ। कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेललगायत विभिन्न शैक्षिक संस्थाका उच्च पदस्थ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा स्थानीय तह सङ्कटग्रस्त घोषणा गरिएका छन्। प्रारम्भिक विवरणअनुसार यस विपद्बाट १९ वटा विद्यालयमा क्षति पुगेको छ भने १६ जना शिक्षक र २१७ जना विद्यार्थी अझै सम्पर्कविहीन छन्। यस बाढीका कारण कुल ९ हजार ७४२ जना विद्यार्थीको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस