ब्राजिलमा दक्षिणपन्थी दबदबाका बीच वामपन्थी नेता लुलाको सानदार जित
ब्राजिलका वरिष्ठ वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपति निर्वाचनमा शानदार पुनरागमन गर्दै चौथो पटक देशको बागडोर सम्हाल्ने अवसर प्राप्त गरेका छन्। उनले आफ्ना कडा प्रतिस्पर्धी एवं दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोलाई अत्यन्तै रोमाञ्चक र झिनो मतान्तरले पराजित गरेका हुन्।
निर्वाचनको अन्तिम नतिजा अनुसार दोस्रो चरणको मतगणनामा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी फ्लाभियोले ४८.२४ प्रतिशत मतमा चित्त बुझाएका छन्। निर्वाचनअघिका केही सर्वेक्षणहरूमा फ्लाभियो अगाडि देखिए तापनि अन्तिम परिणाम भने लुलाको पक्षमा आएको हो।
मतदानका क्रममा सार्वजनिक यातायात सञ्चालनमा आएका अवरोधका कारण सर्वसाधारण मतदातालाई केन्द्रसम्म पुग्न कठिनाइ भएको भन्दै लुलाको गठबन्धनले आपत्ति जनाएको थियो। सो विवादपछि सर्वोच्च अदालतका न्यायाधीशले मतदानको समय थप दुई घण्टा बढाउने आदेश जारी गरेका थिए।
भू-राजनीतिक प्रभाव र अमेरिकी रणनीतिमा चुनौती
दक्षिण अमेरिकामा दक्षिणपन्थी शक्तिको बढ्दो प्रभावका बीच लुलाको यो जितलाई अत्यन्तै महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस क्षेत्रका रूढिवादी नेताहरूसँग निकट सम्बन्ध विस्तार गरिरहेको समयमा लुलाको पुनरागमनले अमेरिकी रणनीतिमा चुनौती थप्ने विश्लेषकहरूको भनाइ छ। लुलाले ट्रम्पको आक्रामक विदेश नीतिको खुला आलोचना गर्दै आएका छन् भने पराजित फ्लाभियोले अमेरिकी प्रशासनसँग निकटता बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
चुनावी अभियानका क्रममा ८० वर्षीय लुलाले ऋणमाफी, सप्ताहान्तमा निःशुल्क सार्वजनिक यातायात र गरिब विद्यार्थीका लागि आर्थिक सहायताजस्ता सामाजिक कल्याणका कार्यक्रमहरू सार्वजनिक गरेका थिए। तर, विपक्षीहरूले भने यी पपुलिस्ट (लोकलुभावन) घोषणाले राज्यको ढुकुटीमाथि ठूलो आर्थिक भार पार्ने र मतदाता प्रभावित पार्ने रणनीति भएको आरोप लगाएका थिए।
मेटल उद्योगका मजदुर हुँदै ट्रेड युनियनबाट राजनीतिमा आएका लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल ब्राजिलको नेतृत्व गरिसकेका छन्। भ्रष्टाचारको मुद्दामा जेलसमेत परेका उनी पछि रिहा भएर राजनीतिमा फर्किएका थिए। उनले सन् २०२२ को निर्वाचनमा जाइर बोल्सोनारोलाई पराजित गर्दै तेस्रो कार्यकालका लागि सत्ता सम्हालेका थिए।
अर्कोतर्फ, पराजित फ्लाभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनपछि सत्ता कब्जा गर्ने षड्यन्त्रमा दोषी ठहर भई २७ वर्षको जेल सजाय काटिरहेका छन्। स्वास्थ्य समस्याका कारण उनलाई हाल घरमै नजरबन्दमा राखिएको छ।
लुलाको यो पछिल्लो जितले बोल्सोनारो परिवारको दक्षिणपन्थी आन्दोलनलाई कडा धक्का दिएको छ। करिब पाँच दशक लामो राजनीतिक यात्रामा लुलाले हासिल गरेको यो चौथो जितसँगै उनको नयाँ कार्यकाल सन् २०२७ को जनवरी ५ देखि औपचारिक रूपमा सुरु हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस