कालिकोटको पचालझरना अस्पतालमा चिकित्सक र स्टाफ नर्समाथि किन भयो आक्रमण?
कालिकोटको पचालझरना गाउँपालिका–९ थिर्पुस्थित पचालझरना अस्पतालभित्रै कार्यरत मेडिकल अफिसर र स्टाफ नर्समाथि कुटपिट भएको छ। अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो १:५० बजे हातपात भएको हो।
डा. राईनका अनुसार स्थानीय मैना बम, उनका १४ र १५ वर्षका दुई छोरा तथा अन्य केही स्थानीयले आफूहरूमाथि आक्रमण गरेका हुन्।
अस्पतालको ओपिडी कक्षअगाडि बसेर दुई किशोरले अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। अस्पताल नजिकै घर भएका उनीहरू बेला-बेलामा वाइफाइ चलाउन अस्पताल आउने गरेको डा. राईनले बताए।
स्वास्थ्य सेवा प्रवाहमा बाधा पुग्ने र भीडभाड हुने भएपछि आफू र स्टाफ नर्स शान्ता गिरीले उनीहरूलाई अस्पताल परिसर बाहिर गएर मोबाइल चलाउन आग्रह गरेका थिए। तर, उनीहरूले ‘यहीँ बसेर चलाउँछौँ, कसले के गर्छ?’ भन्दै विवाद सुरु गरेको डा. राईनको आरोप छ।
सुरक्षा गार्डले ती किशोरहरूलाई बाहिर निकाल्न खोजेपछि उनीहरूका अभिभावकसहितका स्थानीय अस्पतालमै प्रवेश गरेर चिकित्सक र नर्समाथि नै हातपात गरेका हुन्। वाइफाइ प्रयोगलाई बहाना बनाएर आफूहरूमाथि नियोजित रूपमा आक्रमण गरिएको डा. राईनको दाबी छ। यस घटनापछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्नो कार्यस्थलको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्।
घटनालगत्तै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा विशेष टोली खटिएको प्रहरीले बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस