रसुवा बाढी प्रभावित महिलाहरुलाई डिग्निटी कीट वितरण
रसुवामा गत भदौ १० गतेको भोटेकोसी र त्रिशूली नदीको विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीहरूको स्वास्थ्य सुरक्षा र सम्मानलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा तथा राहत सामग्री वितरण थालिएको छ। संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयम्सेवकहरूले आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबार र आफन्तजन गुमाएर पीडामा रहेका बाढीपीडितहरूलाई सहयोग जारी राखेका हुन्।
यस अभियानअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर (हेल्थ क्याम्प) सञ्चालन गरी अत्यावश्यक स्वास्थ्य सेवासहित मनोसामाजिक परामर्श तथा यौन र प्रजनन स्वास्थ्य सेवा प्रदान गरिएको छ। साथै, महिलाहरूका लागि ‘डिग्निटी कीट’ (मर्यादा सामग्री), किशोरीहरूका लागि ‘किशोरी कीट’ र आश्रयका लागि तारपोलियन वितरणलाई पनि तीव्रता दिइएको छ। यूएनएफपीएका अनुसार हालसम्म दुई हजार ‘डिग्निटी कीट’, चार सय ‘किशोरी कीट’ र तीन हजार तारपोलियन वितरण भइसकेका छन्।
नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलहरू ककनी, किस्पाङ, विदुरस्थित त्रिभुवन मावि, बट्टारको तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवनमा आश्रित महिला तथा किशोरीहरूलाई लक्षित गरी यी सामग्रीहरू उपलब्ध गराइएको छ।
नेपाल रेडक्रस सोसाइटीले नुवाकोटबाहेक अब धादिङ र रसुवाका प्रभावित क्षेत्रमा समेत यिनै सेवा तथा राहत सामग्री वितरण गर्ने तयारी गरिरहेको जनाएको छ। बाढीका कारण गम्भीर मानसिक तथा शारीरिक असर भोगेका महिला र किशोरीहरूको पुनस्थापनाका लागि यो राहत कार्यक्रम प्रभावकारी बन्ने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस