Techie IT
२०८३ मंसिर १२, शुक्रबार

अब एआईले पत्ता लगाउनेछ स्तन क्यान्सर, लाखौँ महिलामाथि परीक्षण गरिँदै

करिब १ करोड १० लाख पाउन्ड लागत अनुमान गरिएको यो तीनवर्षे परीक्षणमा चार वटा एआई कम्पनी संलग्न छन्


स्तन क्यान्सरको प्रारम्भिक पहिचानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कत्तिको प्रभावकारी हुन सक्छ भन्ने परीक्षणका लागि बेलायत (यूके) मा झन्डै ७ लाख महिलालाई सहभागी हुन आह्वान गरिएको छ। यस परीक्षणअन्तर्गत स्तनको एक्स-रे अर्थात् ‘म्यामोग्राम’ जाँचमा एआईको प्रयोग गरिनेछ। स्वास्थ्यकर्मीको कार्यबोझ घटाउन, अनावश्यक झन्झट कम गर्न र प्रारम्भिक अवस्थामै क्यान्सर पहिचान गर्न यो अध्ययन गर्न लागिएको हो।

बेलायतमा पहिलो चरणमा परीक्षण हुने ३० वटा केन्द्रमध्ये केम्ब्रिज विश्वविद्यालय अस्पतालमा महिलाहरूको आवेदन स्वीकृत गर्न सुरु भइसकेको छ। त्यहाँ ५० देखि ७१ वर्ष उमेर समूहका महिलाहरूलाई हरेक तीन वर्षमा नियमित स्तन जाँच गराउन आह्वान गरिन्छ, जहाँ वार्षिक २० लाखभन्दा बढी महिलाले परीक्षण गराउँदै आएका छन्। हाल नेसनल हेल्थ सर्भिस (एनएचएस) का विज्ञहरूले प्रत्येक म्यामोग्राम आफैँ जाँच्दै आएका छन्।

प्रारम्भिक चरण र विज्ञहरूको धारणा
बेलायतमा महिलाहरूलाई हुने क्यान्सरमध्ये स्तन क्यान्सर सबैभन्दा धेरै देखिने समस्या हो । यहाँ हरेक वर्ष ५९ हजार महिलामा यो रोग पहिचान हुन्छ। नियमित स्क्रिनिङ कार्यक्रमले वार्षिक करिब १ हजार ३ सय महिलाको ज्यान जोगाउँदै आएको अनुमान छ। केम्ब्रिज विश्वविद्यालयको रेडियोलोजी विभागकी प्राध्यापक तथा अध्ययनकी उपप्रमुख अनुसन्धाता फिओना गिल्बर्टका अनुसार १० लाखभन्दा बढी महिलाको म्यामोग्राम गर्दा एक प्रतिशतभन्दा कममा मात्र क्यान्सर पुष्टि हुन्छ।

प्राध्यापक गिल्बर्टका अनुसार हाल रेडियोलोजिस्टहरूको अभाव छ र एक्स-रे परीक्षणको चाप हरेक वर्ष ८ प्रतिशतले बढिरहेको छ। प्रविधिले तस्बिर जाँचलाई छिटो र प्रभावकारी बनाए रेडियोलोजिस्टहरूले क्यान्सरका बिरामीलाई बढी समय दिन सक्ने र छिटो उपचार सम्भव हुने उनले बताइन्। सह-प्रमुख अनुसन्धाता तथा वारिक विश्वविद्यालयका प्राध्यापक सिआन टेलर-फिलिप्सले एआईको मद्दतले प्रारम्भिक चरणमै क्यान्सर पहिचान थप चुस्त हुने र लक्षण नदेखिए पनि अनावश्यक थप परीक्षणको बाध्यता कम गर्नुपर्नेमा जोड दिए।

केम्ब्रिजशरकी ७० वर्षीया शर्ली एसेक्सले एक वर्षअघि नियमित स्क्रिनिङमार्फत प्रारम्भिक चरणमै स्तन क्यान्सर पत्ता लागेपछि आफ्नो ज्यान जोगिएको बताइन्। शल्यक्रिया र रेडियोथेरापी गरिए पनि उनलाई केमोथेरापी आवश्यक परेन। यो अध्ययनमा सहभागी नभएकी उनले कुनै लक्षण नहुँदा पनि जाँच गराएका कारण समयमै उपचार सम्भव भएको उल्लेख गरिन्।

बेलायतमा परीक्षण प्रक्रिया
नियमित परीक्षणको निम्तोसँगै महिलाहरूलाई अध्ययनबारे जानकारी दिइनेछ, तर सहभागिता ऐच्छिक हुनेछ। हालको परीक्षण प्रक्रियामा कुनै परिवर्तन नगरी म्यामोग्राम जाँच्ने दुई मानव विशेषज्ञमध्ये एकको काम एआईले गर्नेछ। लाखौँ पुराना तस्बिरबाट प्रशिक्षित मेसिन लर्निङ सफ्टवेयरले मानव आँखाले ठम्याउन नसक्ने सूक्ष्म परिवर्तन पहिचान गर्न सिकाइएको छ।

करिब १ करोड १० लाख पाउन्ड लागत अनुमान गरिएको यो तीनवर्षे परीक्षणमा चार वटा एआई कम्पनी संलग्न छन्। एउटा समूहका तस्बिर पहिले एआईले जाँचेर एनएचएसका विशेषज्ञकहाँ पठाइनेछ भने अर्को समूहका तस्बिर मानिसले जाँचेपछि एआईले मूल्याङ्कन गर्नेछ। स्वास्थ्य मन्त्री इभेट कुपरले उच्चतम सुरक्षासहित प्रविधिको प्रभावकारिता जाँच्न यस्ता परीक्षण आवश्यक रहेको बताइन्। एनएचएस इङ्ग्ल्यान्डका क्यान्सरसम्बन्धी राष्ट्रिय क्लिनिकल निर्देशक प्राध्यापक पिटर जोनसनले पनि अन्तिम निर्णय विशेषज्ञबाटै हुने स्पष्ट पार्दै महिलाहरूलाई सहभागिताका लागि आह्वान गरे।

दक्षिण अस्ट्रेलियामा ‘ब्रेक्स’ परीक्षण
यस्तै, दक्षिण अस्ट्रेलियामा ‘ब्रेस्टस्क्रिन एसए’ को नियमित परीक्षणमा सहभागी महिलाहरूलाई पनि एआईसम्बन्धी नयाँ क्लिनिकल परीक्षण ‘ब्रेक्स’ (BRAIx) मा सामेल हुन आह्वान गरिएको छ। ६ जुलाईदेखि सुरु भई ६ देखि ९ महिना चल्ने अनुमान गरिएको यस अध्ययनमा हालको ‘डबल रिडिङ’ पद्धति र एक जना विशेषज्ञ रेडियोलोजिस्टसँगै एआई सफ्टवेयरले म्यामोग्राम जाँच्ने पद्धतिबीच तुलना गरिनेछ।

सहभागिता स्वैच्छिक रहने यस परीक्षणमा सहभागीलाई दुई समूहमा विभाजन गरिनेछ । एउटामा दुई विशेषज्ञ रेडियोलोजिस्टले स्वतन्त्र रूपमा जाँच गर्नेछन् र अर्कोमा एक विशेषज्ञ तथा एआईले जाँच गर्नेछन्। दुवै अवस्थामा परीक्षणको अन्तिम निर्णय भने मानव विशेषज्ञ रेडियोलोजिस्टले नै गर्नेछन्। अस्ट्रेलियामै लाखौँ म्यामोग्राम तस्बिरबाट तालिम दिइएको यो सफ्टवेयरले पहिचान दर बढाउन र रेडियोलोजिस्टलाई सघाउन सक्ने अस्ट्रेलिया तथा विदेशका यसअघिका अध्ययनहरूले देखाएका छन्।

दक्षिण अस्ट्रेलियाका स्वास्थ्य मन्त्री क्रिस पिक्टनले चिकित्सकीय निगरानी कायम राख्दै एआईले दक्षता र सटिकता बढाउन सक्ने बताए। शिक्षा मन्त्री ब्लेयर बोयरले प्रारम्भिक पहिचानले उपचार नतिजा सुधार गर्ने उल्लेख गर्दै अन्तिम मूल्याङ्कन अनुभवी विशेषज्ञबाटै हुने दोहोर्‍याए। ब्रेस्टस्क्रिन एसएकी क्लिनिकल निर्देशक एसोसिएट प्रोफेसर मिसेल रेन्टल्सले सेवाको गुणस्तर यथावत् राख्दै नियमित स्क्रिनिङमा एआईको प्रयोग परीक्षण गरिने बताइन्।

हालैका स्वतन्त्र अध्ययनहरूले एआई-सहायतायुक्त स्तन परीक्षणले क्यान्सर पहिचान सुधार गर्दै कार्यबोझ घटाउने सम्भावना देखाए पनि फरक जनसङ्ख्या र स्वास्थ्य प्रणालीमा यसको प्रभाव बुझ्न थप ठूला क्लिनिकल परीक्षण आवश्यक रहेको अनुसन्धानकर्ताहरूले औँल्याएका छन्। भिक्टोरियामा पहिले नै सुरु भइसकेको ‘ब्रेक्स’ परीक्षणलाई मेडिकल रिसर्च फ्युचर फन्डले आर्थिक सहयोग गरेको छ। यसमा ब्रेस्टस्क्रिन एसए, ब्रेस्टस्क्रिन भिक्टोरिया, सेन्ट भिन्सेन्ट्स इन्स्टिच्युट अफ मेडिकल रिसर्च, सेन्ट भिन्सेन्ट्स हस्पिटल मेलबर्न, मेलबर्न विश्वविद्यालय, मोनाश विश्वविद्यालय र एडिलेड विश्वविद्यालय संलग्न छन् भने रोयल मेलबर्न हस्पिटल ह्युमन रिसर्च एथिक्स कमिटीले नैतिक अनुगमन गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट