Techie IT
२०८३ मंसिर ११, बिहीबार

सभामुख अर्याल र बेनलाई संरक्षण नदिन आईजीपी केसीलाई ‘जेनजी मुभमेन्ट’को चेतावनी


भदौ २३, २०८२ मा जेनजी आन्दोलनकारीले जलाइएको संसद भवनको प्रवेशद्वार

“जेनजी मुभमेन्ट नेपाल” ले मलेसिया बायोमेडिकल प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डोलप्रसाद (डीपी) अर्याल र इनम सापकोटाको मोबाइल प्रकरणमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार) लाई राजनीतिक संरक्षण नदिन प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई चेतावनी दिएको छ ।

मुभमेन्टले बुधबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै दुवै प्रकरणमा राजनीतिक दबाब र प्रभावबिना निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो ।

मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुली गरी करिब एक अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको प्रकरणमा विभिन्न व्यक्तिमाथि अनुसन्धान भइरहेको छ । सोही प्रकरणमा तत्कालीन श्रममन्त्री अर्यालको कार्यकालमा समेत करिब सात करोड २९ लाख रुपैयाँ मलेसिया पठाइएको सार्वजनिक विवरणमाथि छानबिन हुनुपर्ने मुभमेन्टको माग छ । एउटै प्रकृतिको मुद्दामा अन्य मन्त्री तथा अधिकारीमाथि अनुसन्धान हुने तर अर्यालको कार्यकालका निर्णय र आर्थिक कारोबारमाथि छानबिन नहुने हो भने प्रहरीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टले जनाएको छ ।

त्यस्तै, प्रहरी नियन्त्रणमा रहेको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि नै प्रधानमन्त्री कार्यालय हुँदै सल्लाहकार बेनको निवाससम्म पुगेको, मोबाइलमा डिजिटल गतिविधि भएको, स्क्रिनसट लिइएको तथा केही सन्देश मेटाइएको भन्ने सार्वजनिक विवरणमाथि गम्भीर अनुसन्धान गर्न ध्यानाकर्षणपत्रमा माग गरिएको छ । यस प्रकरणमा बेनसहित संलग्न व्यक्तिहरूमाथि अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा विधिवत् जाहेरी दर्ता भइसके पनि हालसम्म अनुसन्धानको प्रगति र कारबाहीबारे स्पष्ट जानकारी नआएको मुभमेन्टको भनाइ छ ।

प्रहरी नेतृत्वसमक्ष प्रश्न गर्दै मुभमेन्टले भनेको छ, “कुमार बेनविरुद्ध जाहेरी दर्ता भइसकेको छ । अब अनुसन्धान किन भइरहेको छैन ? अनुसन्धान रोकिएको हो वा राजनीतिक दबाब र प्रभावका कारण प्रक्रिया प्रभावित भइरहेको छ ?”

नेपाल प्रहरी सरकार वा कुनै राजनीतिक दलको निजी संगठन नभई संविधान र कानुनअनुसार चल्ने व्यावसायिक तथा निष्पक्ष सुरक्षा निकाय हुनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । “नेपाल प्रहरी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन हो कि संविधान र कानुन कार्यान्वयन गर्ने निकाय हो ? प्रहरीको जिम्मेवारी सत्तामा रहेका व्यक्तिको स्वार्थ रक्षा गर्नु होइन, कानुनको शासन कायम गर्नु हो,” मुभमेन्टले भनेको छ ।

मुभमेन्टले अर्याल श्रममन्त्री हुँदाका निर्णय, पत्राचार, भुक्तानी तथा रकम विदेश पठाइएको प्रक्रियाको अनुसन्धान गर्न, बेनविरुद्ध दर्ता जाहेरीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन र सापकोटाको मोबाइलको फरेन्सिक परीक्षण गरी डिजिटल प्रमाण सुरक्षित गर्न माग गरेको छ । साथै, दुवै प्रकरणमा अनुसन्धानको अवस्था र आगामी कारबाहीबारे सार्वजनिक जवाफदेहिता कायम गर्नसमेत आग्रह गरिएको छ ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा कुनै व्यक्तिलाई पूर्वाग्रहका आधारमा दोषी घोषणा गर्न नखोजिएको स्पष्ट पार्दै प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान र दोष प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्ने उल्लेख छ । ध्यानाकर्षणपत्रको अन्त्यमा भनिएको छ, “कानुनभन्दा माथि कोही छैन— न प्रधानमन्त्री, न सभामुख, न राजनीतिक सल्लाहकार र न कुनै राजनीतिक दल । सत्ता अस्थायी हो, संस्था स्थायी हो ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट