पूर्वमुख्यसचिव एकनारायण अर्याल मोरङबाट पक्राउ
मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहेका अर्याललाई प्रहरीले मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले अर्याल पक्राउ परेको पुष्टि गर्दै उनीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । प्रवक्ता जबराका अनुसार बिहीबार कार्यालय समय अभावका कारण म्याद थप गर्न नभ्याइएकाले उनलाई शुक्रबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिने छ ।
मलेसिया कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम असुली तथा विदेशी मुद्रा अपचलन गरेको आरोपमा सीआईबीले यसअघि नै पूर्वमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी र बिचौलियाहरूलाई पक्राउ गरिसकेको छ ।
उक्त प्रकरणमा प्रहरीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई नियन्त्रणमा लिइसकेको छ ।
यसैगरी, कागेश्वरी मनोहराका ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायणका ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि यसअघि नै पक्राउ परिसकेको प्रवक्ता जबराले बताए । प्रकरणमा संलग्न अन्य व्यक्ति तथा आर्थिक कारोबारका विभिन्न पाटोमाथि सूक्ष्म अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस