Techie IT
२०८३ मंसिर १२, शुक्रबार

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु


सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ।

प्रारम्भमा ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको यो आयोजना ठेकेदारको लापरबाही, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय पछि धकेलिएको थियो। रघुगङ्गा गाउँपालिकामा निर्मित यस आयोजनाको परीक्षण अवधि पूरा भएसँगै व्यावसायिक उत्पादन थालिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा असोज ११ गते कालीगण्डकीको बाढीले कटान गरी क्षति पुर्‍याएपछि असोज ६ गतेदेखि सुरु भएको परीक्षण अवधि लम्बिएको हो । प्रबन्ध सञ्चालक केसीले भने, “प्राकृतिक विपत्ति, कोभिड–१९, भन्सार प्रक्रियाको जटिलता, अन्तर्राष्ट्रिय युद्धको असर र कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकका कारण आयोजना सम्पन्न हुन ढिलाइ भयो।”

आयोजनाको भौतिक संरचना र प्रसारण प्रणाली
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा बाँध बाँधेर ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङमार्फत पानी ल्याइएको छ। आयोजनामा दुईवटा पानी थिग्य्राउने पोखरी र कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकछेउ तिल्केनीचौरमा विद्युतगृह निर्माण गरिएको छ।

आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग र राहुघाट नदीमा एउटा बेलिब्रिज निर्माण गरिएको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युतगृह परिसरमा स्वीचयार्ड तथा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’ माध्यमबाट जोड्न चारवटा टावर र प्रसारण लाइन निर्माण गरिएको छ।

वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाले २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको थियो। आयोजनाको परामर्शदाता भारतको वाकफोस कम्पनी रहेको छ।

ठेक्का रद्ददेखि पुनर्संरचनासम्मको उतारचढाव
नेपाल विद्युत् प्राधिकरणले राहुघाट निर्माणका लागि २०६७ कात्तिक १८ गते भारतीय निर्माण कम्पनी आइभीआरसीएलसँग २ अर्ब ५० करोड रुपैयाँमा सिभिल ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार काम भएको भए आयोजनाले २०७० सालमै विद्युत् उत्पादन सुरु गर्ने थियो। तर, कमजोर आर्थिक अवस्थाका कारण काम अघि बढाउन नसकेपछि प्राधिकरणले २०७२ सालमा ठेक्का रद्द गर्‍यो। ठेक्का तोडिँदा पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति जम्मा १२ प्रतिशतमा सीमित थियो।

त्यसपछि प्राधिकरणले आयोजनाको पुनर्संरचना गर्दै क्षमता ३२ बाट ४० मेगावाट बनाउने र कम्पनी मोडेलमा निर्माण अघि बढाउने निर्णय गर्‍यो। सोहीअनुसार २०७३ सालमा सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरियो। भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) ढाँचामा निर्माण प्रक्रिया पुनः सुरु गरियो।

नयाँ प्रक्रियाबाट छनोट भएको भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा काम सक्ने गरी २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा सम्झौता भयो। जेपीले २०७५ असारदेखि पहुँचमार्ग र २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो अडिटबाट सुरुङ खन्न सुरु गरेको थियो, जुन २०८१ साउन १५ गते छिचोलिएको (ब्रेक थ्रु) थियो।

आयोजना निर्माणका क्रममा सन् २०२२ फेब्रुअरीमा पहिलो र दोस्रो तथा सन् २०२५ नोभेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो। चौथोपटक थपिएको म्यादभित्र आयोजनाले पूर्णता पाएको हो। इलेक्ट्रोमेकानिकलतर्फ भारत सरकारको स्वामित्वमा रहेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सुरु भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशबिन्दु) मानिएको थियो। राहुघाट निर्माण सुरु भएपछि म्याग्दीमा भित्रिएका अन्य १० वटा आयोजना सम्पन्न भइसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट