Techie IT
२०८३ मंसिर ११, बिहीबार

बजारमा ग्यासको अभाव बढ्दै


दशैँ, तिहार तथा छठ पर्वका बेला बजारमा सहजै उपलब्ध भएको खाना पकाउने एलपीजी ग्यासको आपूर्ति पछिल्ला दिनमा असहज बन्दै गएको छ । बजारमा ग्यासको माग सामान्य अवस्थामा फर्किए पनि उपभोक्ताले खाली सिलिन्डर बुझाएको एकदेखि दुई हप्तासम्म भरिएको सिलिन्डर पाउन नसकेको गुनासो गर्न थालेका छन् ।

विशेषगरी घरमा दुईवटा ग्यास सिलिन्डर राख्ने उपभोक्तासमेत समयमा ग्यास नपाउँदा समस्यामा परेका छन् । काठमाडौँको घट्टेकुलोकी सीता आचार्यले खाली सिलिन्डर पसलमा बुझाएको एक हप्ताभन्दा बढी भइसक्दा पनि ग्यास नपाएको बताएकी छन् । “चाडपर्व सकिएपछि खाली सिलिन्डर पसलमा छोडेको हप्ता–दश दिन भयो, तर पसलेले ग्यास आएकै छैन भन्छन्,” उनले भनिन् । घट्टेकुलोकै अर्का उपभोक्ता सञ्जय शाहको अनुभव पनि उस्तै छ । व्यापारीहरूले ग्यास नआएको भन्दै फर्काउने गरेकाले पहिलेको तुलनामा अहिले ग्यास पाउन निकै कठिन भइरहेको उनले बताएकी हुन् ।

त्यस्तै, बालाजुका रमेश ज्ञवालीले दुईवटा सिलिन्डर हुँदाहुँदै पनि अभाव झेल्नुपरेको गुनासो गरेका छन् । “दुईमध्ये एउटा खाली सिलिन्डर पसलमा बुझाएको दुई हप्ता पुग्न लाग्यो,” उनले भने । तर, पसलवालाले ग्यास आएपछि खबर गर्छु भन्दै झुलाइरहेका छन् ।

उपभोक्ताले ग्यास नपाएर सास्ती खेपिरहँदा नेपाल आयल निगमले भने बजारमा आपूर्ति तथा वितरण व्यवस्था सहज रहेको दाबी गर्दै आएको छ । चाडपर्वपछि मागमा आएको परिवर्तन र ढुवानी व्यवस्थापनका कारण केही स्थानमा वितरणमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको निगमको भनाइ छ ।

यद्यपि, निगमको दाबी र बजारको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको छ । यता ग्यास उद्योगी तथा विक्रेताहरूले भने पछिल्ला दिनमा ढुवानीमा कमी आउँदा उद्योगबाट बजारसम्म पुग्ने ग्यासको परिमाण घटेको बताएका छन् । उद्योगबाटै नियमित रूपमा पर्याप्त ग्यास नआउँदा वितरण चक्र प्रभावित भएको विक्रेताहरूको भनाइ छ ।

एकातिर सरकारी निकायले आपूर्ति सहज रहेको दाबी गर्ने र अर्कोतिर उद्योगी–व्यवसायीले ढुवानीको समस्या देखाउने प्रवृत्तिको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । दैनिक भान्साका लागि एलपीजी ग्यासमै निर्भर रहेका र वैकल्पिक इन्धनको व्यवस्था नभएका परिवारलाई ग्यासको अनियमित आपूर्तिले थप सास्ती दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट