Techie IT
२०८२ जेष्ठ ३, शनिबार

एसियामा पुनः कोरोना आतंक: हङकङ र सिङ्गापुरमा तीव्र संक्रमण वृद्धिको चेतावनी


कोरोनाका कारण केही वर्ष अघिसम्म विश्वभर आतंक मच्चिएपछि अहिले फेरि नयाँ प्रकारको कोभिड–१९ एसियामा फैलिन थालेको छ । हङकङ र सिङ्गापुरमा कोभिड–१९ को नयाँ लहरको सङ्केत देखिएको छ । तीव्र जनसंख्या भएको यी दुवै मुलुकका स्वास्थ्य अधिकारीहरूले संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको भन्दै गम्भीरता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

हङकङको स्वास्थ्य सुरक्षा केन्द्र अन्तर्गतको सरुवा रोग शाखाका प्रमुख डा. अल्बर्ट एउका अनुसार, कोभिड पोजिटिभ केसको प्रतिशत अहिले एक वर्षको अवधिमा सर्वाधिक पुगेको छ । उनले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै मे १३ सम्मको हप्तामा ३१ गम्भीर केस रिपोर्ट भएको जानकारी दिए, जुन विगत वर्षको तुलनामा उच्च हो । गम्भीर केसहरूमा मृत्यु हुनेको संख्या पनि चिन्ताजनक रूपमा वृद्धि भएको छ ।

यद्यपि यो नयाँ लहरले अघिल्ला वर्षहरूमा देखिएको चरम संक्रमणको अवस्था दोहोर्‍याएको भने छैन । तथापि, यस भाइरसका कारण विगतमा ७० लाखभन्दा बढी मानिस अस्पतालमा भर्ना हुनुपरेको तथ्य स्मरणीय छ ।

सिंगापुर पनि हाल उच्च सतर्कतामा रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले एक वर्षपछि पहिलो पटक संक्रमणसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार मे १३ सम्मको हप्तामा कुल केस संख्या १४ हजार २०० पुगेको छ, जुन अघिल्लो साताको तुलनामा २८ प्रतिशतले बढी हो ।

अधिकारीहरूले एसियाली मुलुकहरूमा संक्रमण दर तीव्र गतिमा बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरू पालना गर्न आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट