१ अर्ब भन्दा बढीको अवैध हुन्डी कारोबारी पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार ३४४ रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–४ घर भएका २४ वर्षीय अजयकुमार मुखिया रहेका छन्। सिआइबी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनलाई शहीदनगर नगरपालिका–८ बाट मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
सिआइबीका अनुसार मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा विभिन्न व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार ३४४ रुपैयाँ बराबरको हुन्डी तथा अवैध वित्तीय कारोबार भएको खुलेको छ।
औपचारिक वित्तीय प्रणालीबाहिर रही विदेशबाट नेपालमा रकम भित्र्याउने र नेपालबाट विदेशतर्फ रकम पठाउने गतिविधिमा संलग्न रहेको पाइएपछि मुखियामाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ। साथै, यस अवैध नेटवर्कमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध वित्तीय तथा हुन्डी कारोबारसम्बन्धी कुनै पनि सूचना भए उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गर्दै सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा कायम राखिने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस