Techie IT
२०८३ भाद्र ३१, बुधबार

मक्कामाथिको ड्रोन हमलालाई साउदीले भन्यो 'रेड लाइन' क्रस गरे अनिष्ट होला


साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कालाई लक्षित गरी आक्रमणको प्रयास गरेको गम्भीर आरोप लगाएको छ। साउदी नेतृत्वको सैन्य गठबन्धनले यसलाई ‘रेड लाइन’ अर्थात् कुनै पनि हालतमा अतिक्रमण गर्न नहुने सीमा भनेको छ भने हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको दाबीलाई अस्वीकार गरेका छन्।

साउदी गठबन्धनका अनुसार मक्काको आकाशमा प्रवेश गर्नुअघि नै उक्त ड्रोनलाई सफलतापूर्वक रोकेर नष्ट गरिएको थियो। गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल–मालिकीले सन् २०१७ मा हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि भएको यो दोस्रो आक्रमणको प्रयास भएको बताएका छन्।

पवित्र स्थलमाथिको यस आक्रमण प्रयासप्रति पाकिस्तान, टर्की तथा ५७ भन्दा बढी मुस्लिम राष्ट्रहरूको प्रतिनिधित्व गर्ने इस्लामिक सहयोग सङ्गठन (ओआईसी) ले कडा शब्दमा निन्दा गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यस संकटको घडीमा साउदी अरबसँग “अटल रूपमा काँधमा काँध मिलाएर” उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यद्यपि, हुथीहरूको बढ्दो आक्रमणका बाबजुद साउदी अरबबाट कुनै पनि औपचारिक सैन्य सहयोगको माग नआएको टर्की र पाकिस्तानका अधिकारीहरूले स्पष्ट पारेका छन्। दुई देशबीच हालै भएका रक्षा सम्झौताहरू पनि अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयनमा आइसकेका छैनन्।

यसैबीच, संयुक्त राज्य अमेरिकाले यस द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने कुनै इच्छा नरहेको सङ्केत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले अमेरिकासँग लड्न नचाहेको धारणा व्यक्त गरेका छन् भने उपराष्ट्रपति जे.डी. भान्सले वासिङ्टनले साउदी अरब र हुथी दुवै पक्षसँग कूटनीतिक सम्पर्क कायम राखेको जानकारी दिए ।

अर्कोतर्फ, मध्यपूर्वको बिग्रँदो परिस्थितिबीच इरानी विदेशमन्त्री अब्बास अराघची चीन भ्रमणमा रहनुभएको छ। इरानी तेलको प्रमुख खरिदकर्ता रहेको चीनको यो भ्रमणका क्रममा मध्यपूर्वको द्वन्द्व र रणनीतिक होर्मुज जलसन्धिमा हुने ढुवानी तथा सुरक्षाोबारे महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि, हुथी विद्रोहीहरूले मध्य यमनको मारिब क्षेत्रमा साउदी गठबन्धनको एफ–१५ लडाकु विमान खसालेको दाबी गरे पनि त्यसको कुनै ठोस प्रमाण प्रस्तुत गरेका छैनन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम (एपी) ले पनि उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट