लण्डनमा २,००० वर्ष पुरानो रोमन भित्तेचित्रको उत्खनन्

लण्डनमा एक निर्माणस्थलबाट करिब दुई हजार वर्ष पुरानो रोमन भित्तेचित्रको दुर्लभ संग्रह फेला परेको छ । म्युजियम अफ लण्डन आर्कियोलोजी (MOLA) का अनुसार यो फेला परेको भित्तेचित्र लण्डनमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो चित्रित रोमन प्लास्टरको संग्रह हो ।
सन् २०२१ मा दक्षिण लण्डनको साउथवार्कस्थित एक निर्माणस्थलमा भेटिएको प्लास्टर सन् ४३ देखि १५० को रोमन कालखण्डको उच्चवर्गीय भवनको भित्री भित्तामा सजाइएको चित्रकला भएको अनुसन्धानबाट पुष्टि भएको छ ।
भवन भत्काउने क्रममा उक्त भित्तेचित्रका टुक्राहरू एक ठूलो खाल्डोमा फ्याँकिएको अवस्थामा फेला परेका थिए । ती टुक्राहरू हजारौँको सङ्ख्यामा रहेकाले तिनीहरूको पुनर्निर्माण अत्यन्त चुनौतीपूर्ण थियो ।
MOLA का वरिष्ठ भवन निर्माण सामग्री विशेषज्ञ हान ली ले ती टुक्राहरूलाई तीन महिनाको समय लगाएर बिछ्याउने र पुनःजोड्ने काम गरेका छन् । "जब मैले ती प्लास्टरका टुक्राहरू बिस्तारै मिलाउन सुरु गरेँ, म अत्यन्तै उत्साहित थिएँ तर साथसाथै निकै तनावग्रस्त पनि थिएँ," लीले भने । "धेरै टुक्रा अत्यन्तै नाजुक थिए, र भवन भत्काउँदा विभिन्न भित्ताबाट आएका टुक्राहरू आपसमा मिसिएका थिए । यस्तो अवस्थामा तिनीहरूलाई मिलाउनु संसारकै सबैभन्दा कठिन जिगस पजल हल गरेजस्तो थियो ।"
यस उत्खननले उज्यालो पहेंलो रंगका भित्तेचित्रहरूमा चरा, फलफूल, फूल र संगीत वाद्ययन्त्र ‘लाइर’ जस्ता आकृतिहरू उजागर गरेको छ, जुन करिब १८०० वर्षअघि रोमन लण्डनमा प्रयोग गरिएका थिए । यी चित्रहरू रोमन कालका लण्डनवासीहरूले समेत अन्तिमपटक देखेका थिए भन्ने अनुमान गरिएको छ ।
पुनर्निर्माण गरिएको भित्तेचित्रको केही टुक्रामा चित्रकारको हस्ताक्षर को संकेत देखिएको छ, यद्यपि पूरा नाम भने भेटिएको छैन । साथै टुक्रामा प्राचीन ग्रीक वर्णमालामा लेखिएको असामान्य ग्राफिटी पनि भेटिएको छ ।
विशेष रूपमा एउटा टुक्रामा फ्लाभियन काल (ई.सं. ६९–९६) को हेयरस्टाइल भएकी रोइरहेकी महिलाको अनुहार चित्रित गरिएको छ, जसले उक्त कालको सामाजिक तथा कलात्मक अभिव्यक्तिलाई झल्काउँछ ।
सोही निर्माणस्थलमा यसअघि पनि रोमन मोजाइक तथा दुर्लभ रोमी समाधिस्थल (माउसोलियम) समेत फेला परिसकेको छ । यी सबै खोजहरूले पुरानो लण्डन, रोमन समयको लन्डिनियम, को सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई झनै प्रस्ट पार्दै लगेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस