फागुन २१ को चुनावअघि भारत र चीनसँग जोडिएका सीमा ७२ घण्टा ‘सील’ गरिने
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान हुनुभन्दा ७२ घण्टा अघि भारत र चीनतर्फका सीमा नाका बन्द (बोर्डर सील) गरिने भएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डीआईजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको हो । नेपालतर्फ सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले सम्हाल्दै आएको छ ।
बैठकमा सीमा सुरक्षा सुदृढीकरण, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागूऔषध ओसार–पसार रोकथामलगायत विषयमा विस्तृत छलफल भएको डीएसपी थापाले जानकारी दिएका छन् ।
त्यसैगरी सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालनका विषयमा समेत सहमति भएको जनाइएको छ ।
सीमा क्षेत्रका संवेदनशील नाका पहिचान गरी जोखिम मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासी गतिविधिमा निगरानी बढाउने, विभिन्न तहमा चेकपोइन्ट र बेरियर स्थापना गर्ने, आपराधिक घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने तथा सीमा क्षेत्रमा मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा पनि दुई पक्षबीच छलफल भएको छ ।
उक्त बैठकमा सशस्त्र प्रहरीतर्फबाट नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति डीआईजी कुमार न्यौपाने तथा एसएसबीतर्फबाट डीआईजी सरोजकुमार ठाकुर सहभागी थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस