नेपालको स्वाधीनता अरूले बचाइदिएको अवस्थामा छ : नेता किराँती
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले नेपालको स्वाधीनता जोगाउने जिम्मेवारी अब नेपाली आफैँले लिनुपर्ने बताएका छन्।
पाँचथरको हिलिहाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले नेपालको स्वाधीनता नेपालीले आफैँ जोगाइरहेको नभई अरू कसैले बचाइदिएको अवस्था रहेको टिप्पणी गरेका छन्। उनले भने, “हाम्रो स्वाधीनता हामीले बचाएको हो कि कसैले बचाइदिएको हो ? मलाई लाग्छ, हामीले बचाइराखेका छैनौँ, कसैले बचाइदिएको छ।”
यदि नेपालीले आफ्नो स्वाधीनता आफैँ जोगाएको भए देश आफ्नै ढङ्गले निर्माण गर्नसक्ने अवस्था हुने उनको भनाइ थियो। “अरूले बचाइदिएको हुनाले बनाउन दिएन र बनाइ पनि दिएन” उनले भने हाम्रो स्वाधीनता न गरी खाने, न मरी जाने अवस्थामा छ।
देशभित्र र बाहिर रहेका नागरिकको अवस्थालाई जोड्दै नेता किरातीले अहिले दुईवटा नेपाल देखिएको बताएका छन् । “एउटा नेपाल सिमानाभित्र बसेर देश कुर्दै छ, अर्को नेपाल पसिना बगाउँदै सिमानाबाहिर रहेको नेता किराँतीले बताए । उनका अनुसार सिङ्गो स्वाधीन र समृद्ध देश निर्माणका लागि तीव्र आर्थिक विकास आवश्यक छ। समृद्धिबिनाको देश श्वासबिनाको लासजस्तो मात्र हुने उनको राय छ । देश बनाउन र जनतामा सुख ल्याउन सम्पूर्ण शक्ति आर्थिक विकासमा लगाउनुपर्नेमा नेता किराँतीले जोड दिएका छन् ।
सोही क्रममा किरातीले हिलिहाङलाई अन्तिम राजा नभई प्रथम नायकका रूपमा बुझ्नुपर्ने बताएका छन् । गोर्खाली सेनासँग १७ पटकसम्म लडेका हिलिहाङ नहारेको उल्लेख गर्दै उनले अन्ततः शक्ति स्वीकार गर्न बाध्य भए पनि याक्थुङ लिम्बू र किरातीका लागि स्वायत्तताको राजनीतिको बीउ रोपेर गएको बताए। “हिलिहाङ अन्तिम राजा होइन, प्रथम नायक हुन्” किरातीले थपे।



तपाईको प्रतिक्रिया दिनुहोस