Techie IT
२०८३ असोज १५, बिहीबार

देउवापक्ष कांग्रेसको महाधिवेशन कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा


नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा पेस गरेको कार्यतालिकालाई आयोगले अभिलेखमा राखेको छ।

देउवा नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज १३ गते आयोगमा पत्र पठाउँदै महाधिवेशनको प्रक्रियाबारे औपचारिक जानकारी गराएको थियो। उक्त पत्र प्राप्त भएलगत्तै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले सो कार्यतालिकालाई बिहीबार आयोगको अभिलेखमा राख्न र सोहीबमोजिम फाइल खडा गर्न तोक आदेश दिएका हुन्।

देउवा समूहले पेस गरेको कार्यतालिकाअनुसार आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय उल्लेख छ। सोही महाधिवेशनको तयारी स्वरूप असोज १५ गते वडा अधिवेशनबाट प्रक्रिया सुरु गरी चरणबद्ध रूपमा तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका आयोगलाई बुझाइएको थियो।

पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि (विधानबमोजिम थपिएको अवधि समेत) आगामी मङ्सिर मसान्तमा सकिन लागेकाले पार्टी विधानको व्यवस्थाअनुसार नयाँ महाधिवेशनको मिति तय गरिएको स्पष्ट पारिएको छ।

यसैगरी, पत्रमा नेपाली कांग्रेसको आन्तरिक विवाद र निर्वाचन आयोगको अघिल्लो निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको विषयलाई पनि विशेष रूपमा उठाइएको छ। उक्त मुद्दामा सर्वोच्च अदालतबाट पुनरावलोकनको अनुमति प्राप्त भई सुनुवाइको प्रक्रियामा रहेको व्यहोरा आयोगलाई अवगत गराउँदै, महाधिवेशन सम्पन्न भएपछि निर्वाचित नयाँ पदाधिकारीहरूको नामावली कानुनबमोजिम अद्यावधिक गर्न पुनः आयोगमा पेस गरिने देउवा पक्षले जनाएको छ।

पार्टी संस्थापन पक्षले महाधिवेशनका विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको बेला निर्वाचन आयोगले देउवा समूहको पत्रलाई पनि अभिलेखमा राखेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट