दुई करोडभन्दा बढीको सुनसहित एक महिला पक्राउ
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा करिब दुई करोड ५२ लाख मूल्य बराबरको सुनका गहना सशस्त्र प्रहरीले बिहीबार भैरहवाबाट बरामद गरेको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापाका अनुसार काठमाडौँ महानगरपालिका–१९ की ४६ वर्षीया ईला पटेलले ल्याइरहेको झोला शङ्कास्पद लागेर खानतलासी गर्दा सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले उक्त परिमाणमा गहना बरामद गरेको हो।
भारतबाट नेपालतर्फ सुनका गरगहना ल्याइँदै गरेको विशेष सूचनाका आधारमा रूपन्देहीको सिद्धार्थनगर–१ स्थित शान्तिगेटमा जाँच गर्ने क्रममा उक्त सफलता प्राप्त भएको हो।
प्रहरीले जम्मा दुई करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरका गहना बरामद गरेको जनाएको छ। शंका लागेर जाँच गर्दा विभिन्न किसिमका सुनजस्तो देखिने पहेँलो धातुबाट बनेका २ किलो ६ सय ५ ग्राम गरगहना फेला परेपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएको थियो।
त्यसपश्चात् प्रहरीले रूपन्देही सुनचाँदी व्यवसायी संघसँग समन्वय गरी बरामद गरगहनाको परीक्षण गराउँदा ती सक्कली सुनका भएको प्रमाणित भएको थियो।
बरामद गरिएका गहनाहरूमा ९ थान हार, ८१ थान औँठी, १३ थान चुरा, ४ पिस माला, हसुली किसिमका ८ पिस सिक्री, पत्थरसहितका २० थान झुम्का, २४ थान सामान्य झुम्का, १४ थान गोली औँठी, १ थान जन्तर (लकेट), १७ वटा पोते, २४ थान सिक्री, १८८ जोर बाली र जुली, ६४ जोर पत्थरसहितका टप, २२ पिस नाकको फुली, २ पिस पत्थरवाला हार, १० थान साना झुम्का, ११ जोर कानको बाली र ८ पिस ब्रान्सलेट रहेका छन्।
बरामद गरिएको सुनका गहना र पक्राउ परेकी महिलालाई आवश्यक कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालय, रूपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस