शरद ऋतुमा हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले पाए अनुमति
यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार सन् २०२६ को शरद ऋतुमा नेपालका २० वटा हिमाल आरोहणका लागि ७१ समूहका जम्मा ६४८ आरोही (४८५ पुरुष र १६३ महिला) लाई अनुमति प्रदान गरिएको हो। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार आरोहण अनुमतिबाट मात्रै २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ (१५ लाख ७१ हजार ६५९ अमेरिकी डलर) रोयल्टी सङ्कलन भएको छ।
अनुमति लिनेहरूमा सबैभन्दा बढी चीनबाट ११८, रसियाबाट ५७, फ्रान्सबाट ५१ र अमेरिकाबाट ४१ जना रहेका छन्। त्यस्तै, बेलायतबाट ३८, जर्मनीबाट ३४, नेपालबाट २०, पोल्याण्डबाट १९, भारतबाट १८, क्यानडा र चेक रिपब्लिकबाट १६/१६, स्पेनबाट १५, स्विट्जरल्याण्डबाट १३, अष्ट्रेलिया र अर्जेन्टिनाबाट ७/७, बेल्जियमबाट ७ तथा बुल्गेरियाबाट ५ जनाले अनुमति लिएका छन् भने अन्य विभिन्न देशका आरोहीसमेत सहभागी छन्।
आरोहण अनुमति लिइएका हिमालमध्ये सबैभन्दा बढी आकर्षण मनास्लु हिमाल (८,१६३ मिटर) मा देखिएको छ। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्, जसबाट मात्र २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी उठेको छ।
त्यसैगरी, धौलागिरि–१ का लागि ४ टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि २ टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि २ टोलीका १६ जना र बरुणत्से हिमालका लागि १ टोलीका १० जनाले अनुमति लिएका छन्। विभागका अनुसार मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका लागि पनि अनुमति प्रदान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस