पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, २२ जना मारिएको दाबी
पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा ‘आतंकवादीका अखडा’ लाई निसाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ। पाकिस्तानी सरकारका अनुसार यी हमलामा परी २२ जना ‘आतंकवादी’ मारिएका छन्।
पाकिस्तानको सूचना मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा ‘अपरेसन गज्ब–उल–हक’ अन्तर्गत चरमपन्थी सङ्गठनका अखडा र सुरक्षित आश्रयस्थलहरूमा हवाई हमला गरिएको जनाइएको छ। पुख्ता गुप्तचर सूचनाका आधारमा गरिएको उक्त कारबाहीको उद्देश्य चरमपन्थी, उनीहरूको सञ्जाल र सहयोगीहरूलाई समाप्त गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तानी सरकारले लक्षित अखडा सफलतापूर्वक ध्वस्त पारिएको र कारबाहीमा २२ जना चरमपन्थी मारिएको दाबी गरेको छ।
यता, तालिबान सरकारले भने पाकिस्तानले गत राति अफगानिस्तानका कुनार र हेलमन्द प्रान्तमा हवाई हमला गरेको गम्भीर आरोप लगाएको छ। तालिबान सरकारको दाबीअनुसार उक्त हमलामा परि कैयौँ मानिस मारिनुका साथै घाइते भएका छन्।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले आम सर्वसाधारणका घरहरूलाई लक्षित गरेर हवाई हमला गरेको आरोप लगाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस