थापाथलीमा मोटरसाइकल र स्कुटर आपसमा जुध्दा चालकको मृत्यु
काठमाडौँको थापाथलीस्थित राम मन्दिरनजिक गए राति मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
बुधबार राति ११:५३ बजे थापाथली राम मन्दिरबाट रोजबड स्कुल जाने पुल नजिक बा४१ प ४७०८ नम्बरको पल्सर मोटरसाइकल र बाप्र ०२–०६२ प ९६३१ नम्बरको स्कुटर आपसमा जुधेका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटको कटहरिया–२ निवासी २७ वर्षीय चन्द्रमा दास तत्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका स्कुटरपछाडि सवार सर्लाहीको मलङ्गवा–७ घर भई शङ्खमूल बस्ने ३७ वर्षीय मोहन साह र मोटरसाइकलपछाडि सवार रौतहट कटहरिया–२ का ३० वर्षीय दीपेन्द्र दासको उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न स्कुटर चालक चितवनको कालिका–५ स्थायी घर भई काठमाडौँको शङ्खमूल बस्ने २३ वर्षीय सुदीप श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस