कर्णालीका छात्रवृत्ति करार चिकित्सकहरू आन्दोलित, चरणबद्ध संघर्षको घोषणा
छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रोत्साहन भत्ता, समान सेवासुविधा र अन्य जायज मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
“छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेश” ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पटक-पटक ध्यानाकर्षण गराउँदा र दिएको २४ घण्टे समयसीमा सकिँदा पनि सम्बन्धित निकायले ठोस निर्णय नगरेकाले आन्दोलनमा उत्रन बाध्य भएको जनाएको छ।
समिति संयोजक डा. विशाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना जायज मागहरू समयमै सम्बोधन गर्न नेपाल सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरिएको छ।
संघर्ष समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रमअनुसार पहिलो चरणमा असोज १६ देखि १९ गतेसम्म हरेक दिन बिहान ९ देखि ११ बजेसम्म २ घण्टा धर्ना दिने र कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै, दोस्रो चरणमा असोज २० र २१ गते बिहानी सिफ्टको ओपीडी लगायत गैर-आपतकालीन सेवा बहिष्कार गर्ने निर्णय गरिएको छ।
यस अवधिमा पनि माग पूरा नभए अति आवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारी अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिइएको छ। यद्यपि, आन्दोलनका क्रममा बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै आकस्मिक, आईसीयू र प्रसूति सेवाहरू भने यथावत् सञ्चालनमा रहने विज्ञप्तिमा स्पष्ट पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस