यूएईमा रहेका नेपाली विज्ञको विवरण संकलन गर्दै दूतावास

संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली विज्ञहरूको विवरण संकलन गर्न दुबईस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ।
दूतावासले एक सूचना जारी गर्दै डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, अनुसन्धानकर्ता तथा विज्ञान–प्रविधि, नवप्रवर्तन र प्रबन्धनलगायत क्षेत्रमा संलग्न विज्ञहरूलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
विदेशमा रहेका विज्ञहरूको दक्षता र अनुभव नेपालको समग्र विकास प्रक्रियामा उपयोग गर्न परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘ब्रेन गेन सेन्टर’ सँग सहकार्य गर्ने तयारी भइरहेको दूतावासले जनाएको छ।
यस अन्तर्गत यूएईमा रहेका विज्ञहरूले सामाजिक, शैक्षिक र प्राविधिक क्षेत्रमा आफ्नो योगदान पुर्याउने अवसर पाउने दूतावासको भनाइ छ। त्यसका लागि इच्छुकहरूले दूतावासले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी अनलाइन फाराममार्फत विवरण पेश गर्न सक्नेछन्।
दूतावासले आगामी दिनमा शैक्षिक तथा व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरूबीच अन्तरक्रियात्मक कार्यक्रम र छलफलसमेत आयोजना गरिने जानकारी दिएको छ।
यस्तै, यूएईमा अध्ययनरत विद्यार्थी र ट्राभल/टुरिजमसहित अन्य व्यवसायमा संलग्न नेपालीहरूको विवरण संकलनका लागि छुट्टै सूचना सार्वजनिक गरिने दूतावासले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस