Techie IT
२०८३ असार ५, शुक्रबार

चीनको बीआरआई छात्रवृत्तिका लागि १२ नेपाली विद्यार्थी चयन


नेपाली विद्यार्थी १२ जनाले चीनको ओभरसिज चाइनिज च्यारिटी फाउन्डेसनद्वारा प्रदान गरिने राजदूतस्तरीय बेल्ट एन्ड रोड (बीआरआई) छात्रवृत्ति प्राप्त गरेका छन्। बेइजिङस्थित नेपाली दूतावासको सहकार्यमा फाउन्डेसनले यो छात्रवृत्ति गत वर्षदेखि प्रदान गर्दै आएको छ।

चीनमा अध्ययनरत नेपाली विद्यार्थीमध्ये शैक्षिक उपलब्धि, नेपाल–चीन सांस्कृतिक सम्बन्धमा योगदान, र समावेशी छनोटको आधारमा विद्यार्थीहरू चयन गरिएको कार्यवाहक राजदूत रोशन खनालले बताइन्। उनले भनिन्, “चीनमा उच्च शिक्षा लिइरहेका नेपाली विद्यार्थीले गरेका योगदानको मूल्यांकन गरेर यो पुरस्कार प्रदान गरिएको हो।”

खनालका अनुसार आयोजक समक्ष चीनका कृषि संस्थानहरूमा नेपाली विद्यार्थीका लागि कृषि तालिमसम्बन्धी कोर्सको व्यवस्था गर्न सुझाव पनि दिइएको छ।

छात्रवृत्ति प्राप्तिका लागि आवेदन गत अक्टोबर १३ देखि २८ सम्म माग गरिएको थियो। सो अवसरमा कुल १४४ जनाले आवेदन दिएका थिए। शैक्षिक उपलब्धि, छात्रवृत्तिको स्थिति, लिङ्ग, वर्ग, सीमान्त समुदाय, नैतिक चरित्र र सामाजिक उत्तरदायित्वका आधारमा आयोजक र नेपाली दूतावासले विजेताहरू चयन गरेका थिए।

बिहीबार दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका प्रतिनिधिले नेपाली विद्यार्थीलाई प्रोत्साहन गर्न र नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन यस्तो कार्यक्रम आवश्यक भएको बताए। प्रतिनिधिहरूले भने, “चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्त क्षेत्रमा प्रगतिका लागि हौसला दिन छात्रवृत्ति प्रदान गरिएको हो।”

विजेतामध्ये मधेश प्रदेशका चन्दनकुमार साहले १० हजार चिनियाँ युआन प्राप्त गरे भने अन्य ११ जनाले ५ हजार युआन पाएका छन्। विजेतामध्ये २ जना विद्यावारिधि गर्दैछन्, ३ जना स्नातकोत्तर तहमा, र ७ जना स्नातक तहमा अध्ययनरत छन्।

पुरस्कृत विद्यार्थीहरूमा विभुष श्रेष्ठ, मन्दीपमणि सुरज, प्रवीण विक्रम केसी, नीरग बस्नेत, कोसिस शर्मा, अनिश तिवारी, अक्षरा रेग्मी, सिन्धु पण्डित, समता बज्राचार्य, सरिता सापकोटा र संकेत यादव रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट