डिजेलको मूल्य आकाशिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कर छुटको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य घटाउन कर छुट दिने उद्देश्यसहित एक नयाँ कार्यकारी आदेश जारी गरेका छन्।
ट्रम्पले सोमबार जारी गरेको उक्त आदेशमार्फत ‘रेड–डाइड डिजेल’ (अर्थात् विशेष प्रयोजनका लागि कर छुट गरिएको डिजेल) लाई अब अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनहरूमा समेत प्रयोग गर्न अनुमति दिइएको छ। यसबाट ट्रक चालक, किसान तथा निर्माण क्षेत्रमा लाग्ने डिजेलको उच्च लागत घट्ने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसका अनुसार वर्षको अन्त्यसम्म राजमार्गमा प्रयोग हुने ‘रेड–डाइड डिजेल’ मा लाग्ने संघीय करको भुक्तानी पूर्ण रूपमा स्थगित गरिनेछ। हाल अमेरिकामा राजमार्गमा प्रयोग हुने डिजेलमा प्रतिग्यालेन २४.४ सेन्ट संघीय कर लाग्दै आएको छ भने राज्यगत कर औसतमा ३५.५ सेन्टसम्म रहेको छ।
पछिल्लो समय अमेरिकामा डिजेलको मूल्य तीव्र रूपमा बढेको छ। गत सेप्टेम्बर २२ मा प्रतिग्यालेन ६.५३ अमेरिकी डलरसम्म पुगेको डिजेलको राष्ट्रिय औसत मूल्य हालैको तथ्यांकअनुसार प्रतिग्यालेन ६.३२ डलर कायम रहेको छ।
राष्ट्रपति ट्रम्पले डिजेलमा गरिएको यो कर छुटको व्यवस्थाले ढुवानी खर्च तथा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्य समेत घटाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताएका छन्। यद्यपि, ऊर्जा विज्ञहरूले भने यो कर छुटले उपभोक्तालाई तत्काल केही राहत दिए पनि विश्वव्यापी रूपमा देखिएको रिफाइनरीको अभावका कारण बढेको डिजेल मूल्यको मूल समस्यालाई भने समाधान नगर्ने तर्क गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस