सर्वोच्चमा ४ न्यायाधीश सिफारिस, वरिष्ठता मिचिएको भन्दै वरिष्ठतम् न्यायाधीश मल्लद्वारा असहमति
न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका लागि चार जना नयाँ न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ। उच्च अदालतका कार्यरत चार जना न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशका रूपमा सिफारिस गरिएको हो।
प्रधानन्यायाधीश डा. मनोज शर्माको अध्यक्षतामा बसेको बैठकबाट उच्च अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतमा सिफारिस गर्ने निर्णय भएको हो।
तर, उक्त निर्णयमा परिषद्का सदस्य तथा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले भने लिखित असहमति प्रकट गरेकी छिन् । न्याय परिषद्को निर्णय प्रक्रियामा वरिष्ठता मिचिएको, समावेशी सिद्धान्तलाई बेवास्ता गरिएको तथा कानुन व्यवसायी र नेपाल बार एसोसिएसनको समेत भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असहमति जनाएकी हुन् ।
उच्च अदालतमा वरिष्ठताका आधारमा मुख्य न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी अगाडि रहेका थिए। यदि वरिष्ठतालाई आधार मानिएको भए यी सबैको सम्भावना प्रबल थियो। तर, बागचन्द बाहेक अन्य सबैलाई पन्छाउँदै नयाँ सिफारिस गरिएको छ।
हाल बागचन्द उच्च अदालत पोखरा, भट्टराई उच्च अदालत विराटनगर, कुँवर उच्च अदालत पाटन, भण्डारी उच्च अदालत सुर्खेत र तिवारी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्।



तपाईको प्रतिक्रिया दिनुहोस