Techie IT
२०८३ असोज २१, बुधबार

पशुपतिमा मुस्लिम जोडी छिरेको घटनाप्रति कोषको गम्भीर ध्यानाकर्षण


पशुपतिनाथ मन्दिरमा गैर-हिन्दु (मुस्लिम) जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनाबारे अध्ययन गर्न कोषले पाँचवटा महत्वपूर्ण निर्णयसमेत सार्वजनिक गरेको छ।

गत असोज १९ गते एक युवा जोडीले आफू मुस्लिम समुदायको भएको जनाउँदै पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो टिकटक मार्फत सार्वजनिक गरेका थिए। हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेशको अनुमति रहेको जानकारी हुँदाहुँदै उनीहरू मन्दिर प्रवेश गरेको विषय बाहिरिएपछि कोषको कार्यसम्पादन समितिको असोज २० गते बसेको आकस्मिक बैठकले कारबाही र छानबिनको निर्णय लिएको हो।

कोषले घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नेमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग पत्राचार गर्ने निर्णय गरेको छ। त्यस्तै, मन्दिरको सुरक्षा व्यवस्थापनमा कमजोरी भएको हो वा होइन भन्नेबारे सत्यतथ्य पत्ता लगाउन कोषका परिषद् सदस्य रामशोभित नायकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। उक्त समितिले सुरक्षा व्यवस्थापनको समीक्षा गरी प्रतिवेदन पेस गर्नेछ।

घटनाका क्रममा पशुपति मन्दिर परिसरमा खटिएका कोषका कर्मचारी, आफ्ना सुरक्षाकर्मी तथा नेपाल सरकारबाट विभिन्न निकायमार्फत खटिएका सुरक्षाकर्मीबाट कमजोरी भएको पाइएमा उनीहरूमाथि पनि कारबाही गर्ने निर्णय कोषले गरेको छ। यस घटनाबाट धार्मिक आस्थामा ठेस पुग्न गएको भन्दै कोषले पशुपति क्षेत्र विकास कोषको तर्फबाट क्षमायाचनासमेत गरेको छ। विज्ञप्ति मार्फत कोषले पशुपति क्षेत्रको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

साथै, घटनाप्रति चिन्ता, चासो तथा प्रतिक्रिया व्यक्त गर्ने विभिन्न संघ–संस्था र महानुभावहरूलाई धन्यवाद दिँदै कोषले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्न दर्शनार्थी, भक्तजन र आमनागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेको छ। कोषले आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न तथा धार्मिक आस्था, आपसी सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न समेत सबैमा आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट