Techie IT
२०८२ माघ २५, आइतबार

दलित महाअभियानले नेपाली कम्युनिस्ट पार्टीलाई समर्थन गर्ने


सामाजिक न्यायका लागि दलित महाअभियानको केन्द्रीय समितिको बैठकले नेपालको आगामी राजनीतिक परिवर्तन र दलित समुदायको अधिकार सुनिश्चित गर्न केन्द्रित पाँच बुँदे विशेष राजनीतिक एजेन्डा सार्वजनिक गरेको छ। साथै, ती एजेन्डाको कार्यान्वयनका लागि नेपाली कम्युनिस्ट पार्टीलाई पूर्ण समर्थन गर्ने निर्णय पनि गरिएको छ। बैठकले प्रवासमा रहेर दलित अधिकार र सामाजिक न्यायको आन्दोलनमा सक्रिय नेताहरूलाई पार्टीको केन्द्रीय तथा प्रदेश कमिटीमा जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

महाअभियानले पारित गरेका पाँच बुँदे एजेन्डा यसप्रकार रहेका छन्-

१. कार्यकारी राष्ट्रपति प्रणाली
राजनीतिक स्थिरता र उत्पीडित वर्गको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गरिनुपर्ने।

२. पूर्ण समानुपातिक संसद्
समावेशी लोकतन्त्रको वास्तविक अभ्यासका लागि निर्वाचन प्रणाली परिमार्जन गर्दै पूर्ण समानुपातिक संसद् व्यवस्था कायम गरिनुपर्ने।

३. जनसंख्याका आधारमा प्रतिनिधित्व
प्रशासन, सुरक्षा निकाय र न्यायपालिका लगायत राज्यका सबै अङ्गमा दलित समुदायको जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने।

४. संवैधानिक संशोधन र कार्यान्वयन
संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक) र धारा ४० (दलितको हक) लाई संशोधन गरी अझ सशक्त बनाउँदै तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने।

५. प्रवासी नेपालीको प्रतिनिधित्व
भारतमा रहेका नेपालीको उल्लेख्य सङ्ख्यालाई ध्यानमा राख्दै प्रतिनिधिसभा र प्रदेश सभामा प्रवासी समुदायका लागि १० प्रतिशत प्रत्यक्ष र १० प्रतिशत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने।
महाअभियानले माथिका एजेन्डाहरू कार्यान्वयन गराउन नेपाली कम्युनिस्ट पार्टीलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले प्रवासमा सक्रिय नेताहरूलाई पार्टी संरचनामा जिम्मेवारी दिन निम्नानुसार सिफारिस गरेको छ।

केन्द्रीय सदस्यका लागि सिफारिस
पेरिसडाँडा, काठमाडौँ पठाइएको नामावलीमा
भिम मलाती विश्वकर्मा -  अछाम–१ (उत्तर प्रदेश)
कमल परिवार -  डोटी (तमिलनाडु)
रवि तिरुवा -  कैलाली (हरियाणा)
सेरबहादुर विश्वकर्मा -  बझाङ (दिल्ली)

सुदूरपश्चिम प्रदेश कमिटीका लागि सिफारिस
सुशील ओखेडा -  बझाङ (दिल्ली)
जगत विश्वकर्मा -  कैलाली (दिल्ली)
खगेन्द्र नेपाली -  अछाम (तेलंगाना)
सूरत विश्वकर्मा -  अछाम (लखनऊ)
अमर बरबीजे -  कैलाली (महाराष्ट्र)
खड्क रसाइली -  कैलाली (महाराष्ट्र)
तिलक ताम्राकार -  कैलाली (उत्तर प्रदेश)

अध्यक्ष भिम मलाती विश्वकर्मा र महासचिव कमल परिवारको हस्ताक्षरमा जारी विज्ञप्तिमा यी एजेन्डा र सिफारिसहरूले दलित आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने र नेपाली कम्युनिस्ट पार्टीलाई प्रवासमा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

महाअभियानका केन्द्रीय सचिव सुशील ओखेडाका अनुसार, आगामी फागुन २१ को निर्वाचनलाई अभियानले उत्पीडित समुदायका अधिकार स्थापित गर्ने निर्णायक अवसरका रूपमा लिएको छ।उनले भने, “हाम्रो समर्थन शक्ति आर्जनका लागि मात्र होइन, सदियौँदेखि पछाडि पारिएका दलित र प्रवासी नेपालीहरूको सम्मानजनक उपस्थितिका लागि हो। यी मागहरू पूरा नभएसम्म हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट