यूएईमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ
सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्समा हालसम्म ७ नेपाली पक्राउ परेका छन्।
इरान र अमेरिका तथा इसरायल बीच जारी द्वन्द्वपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ। सो आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
आज सिंहदरवारमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईमा ७ नेपाली पक्राउ परेको जानकारी प्राप्त भएको बताएका छन्।
परराष्ट्र मन्त्रालयले यसअघि नै यस्ता संवेदनशील सामग्री (फोटो/भिडियो) नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गर्दै आएको थियो। यूएई सरकारले पनि इरानको आक्रमणपछि यस्ता सामग्री सार्वजनिक नगर्न स्पष्ट निर्देशन दिएको थियो। तर उक्त निर्देशनको अवज्ञा भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
यूएईको महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
यूएईमा यस्तो कसुरमा दोषी ठहर भए एक वर्षसम्म कैद सजाय हुने, सजाय भुक्तानपछि डिपोर्ट गरिने तथा १ लाख यूएई दिरामसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस