कोलोराडोमा नेपाली साहित्यकारहरूको कुम्भमेला शुरु
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन शनिवारदेखि अमेरिकाको कोलोराडोमा भव्यताका साथ सुरु भएको छ।
सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता एवं प्रमुख अतिथि डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि डा. लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषी साहित्यकारहरूको 'अन्तर्राष्ट्रिय संसद्' का रूपमा स्थापित भइसकेको बताएका थिए । उनले भने, "नेपालको भूगोल र सीमाभन्दा बाहिर रहेका स्रष्टाहरूले सिर्जना गरेको साहित्यलाई अलग राखेर अब नेपाली भाषा र साहित्य पूर्ण हुन सक्दैन।"
सम्मेलनको अवसरमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, चर्चित आख्यानकार डा. निलम कार्की निहारिका, प्रखर समालोचक महेश पौडेल र आध्यात्मिक चिन्तक आचार्य राजनलाई विशेष सम्मान गरिएको थियो।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सम्मेलन संयोजक एवं अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेकी थिइन् ।
सोमबारसम्म चल्ने यस त्रिवसीय सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, तथा 'नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका' लगायतका दर्जन बढी महत्त्वपूर्ण सत्र (सेसन) हरू सञ्चालन हुनेछन्। यी सत्रहरूमा विभिन्न साहित्यकार, लेखक तथा पत्रकारहरूले नेपाली डायस्पोरामा फैलिँदो नेपाली साहित्यको आयाम र चुनौतीका विषयमा गहन विमर्श गर्नेछन्।
सम्मेलनमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अङ्ग्रेजी साहित्यकारद्वय डा. ज्याकलिन केरबेक र रेड ओ लाफ्लिनको उपस्थिति रहेको छ।
त्यस्तै, वरिष्ठ पत्रकारहरू राधेश्याम लेकाली, सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाज (नेजा) का अध्यक्ष सुरज भण्डारीसहित नेपाल, अमेरिका, युरोप र विश्वका विभिन्न मुलुकबाट २०० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार तथा संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता छ।



तपाईको प्रतिक्रिया दिनुहोस