Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

मङ्सिर १६ देखि कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद शुरु हुने


आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र कर्णाली प्रदेश सरकारको सह-आयोजनामा हुन लागेको उक्त प्रतियोगिताका लागि प्रदेश सरकारले जिल्ला र प्रदेश स्तरको खेलाडी छनोट प्रक्रिया पूरा गरी कात्तिक दोस्रो साताबाट बन्द प्रशिक्षण (Closed Camp) सुरु गर्ने तयारी गरेको छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जीतबहादुर मल्लका अनुसार प्रदेश सरकारले प्रतियोगिताको पूर्वतयारी तथा व्यवस्थापनका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। विगतमा छुट्याइएको ९ करोड रुपैयाँ प्रतियोगिता अनिश्चित हुँदा फ्रिज भएको उल्लेख गर्दै मन्त्री मल्लले हाल विनियोजित बजेट अपुग देखिएकाले थप बजेटका लागि सरकारले छलफल अघि बढाउने बताएका छन् ।

मुख्य प्रतियोगिता सञ्चालन हुने प्रादेशिक रङ्गशालाको निर्माण कार्य ९९ प्रतिशत सकिइसकेकाले ठेकेदार कम्पनीबाट शीघ्र हस्तान्तरण (Handover) लिने प्रक्रिया अघि बढाइएको छ। प्रतियोगिताका ९० देखि ९५ प्रतिशत खेलहरू कर्णालीभित्रै गराइनेछ भने पौडीजस्ता पूर्वाधार अभाव भएका १-२ वटा खेलहरू मात्रै नेपालगन्ज वा बर्दियामा खेलाइनेछ। प्रतियोगिता अवधिभर खेलाडी तथा पाहुनाहरूको बास र खानाको व्यवस्थापनलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। 

वीरेन्द्रनगरका होटलहरूले दैनिक करिब ५ हजार जनाको व्यवस्थापन गर्न सक्ने क्षमता देखाएकाले बाँकी व्यवस्थापनका लागि नजिकका जिल्लाहरू दैलेख, जाजरकोट, सल्यान तथा बाँके/बर्दियाका होटल व्यवसायीहरूसँग समन्वय भइरहेको मन्त्री मल्लले जानकारी दिए। सरकारको पहिलो प्राथमिकता प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको व्यवस्थित बसाइ र सुरक्षा सुनिश्चित गर्नु रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट