बेइजिङमा नेपाल–चीनको सगरमाथा उत्सव: सांसद मिङ्मा ग्याबुसहित ५३ आरोही सम्मानित
चीनको राजधानी बेइजिङमा आयोजित ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेस्ट) एड्भेन्चर फेस्टिभल’ मा सङ्घीय सांसद तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीनका ५३ जना आरोही सम्मानित भएका छन्।
त्रिहत्तरौँ सगरमाथा दिवसको अवसरमा नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको कार्यक्रममा २९ चिनियाँ र २४ नेपाली आरोहीलाई सम्मानपत्र प्रदान गरिएको दूतावासले जनाएको छ।
पूर्वउपसभामुख इन्दिरा राना मगर र नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले आरोहीहरूलाई सम्मान गरेका थिए। नेपालका पर्वतीय पर्यटनको प्रवर्द्धन तथा नेपाली–चिनियाँ पर्वतारोहण र पर्यटन व्यवसायीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यवाहक राजदूत खनालले सगरमाथाको विश्वव्यापी महत्व, साहसिक पर्यटनको भावना तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पारिन्। उनले यस्ता कार्यक्रमले नेपाल–चीन जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
सगरमाथा आरोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाले नेपाल–चीन पर्यटन सहकार्यलाई थप गहिरो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन प्रवर्द्धनका लागि दुई देशबीच संयुक्त पहल अपरिहार्य रहेको बताए।
कार्यक्रममा नेपाली दूतावासका काउन्सलर विवेक रिजालले नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे प्रस्तुति दिएका थिए। कीर्तिमानी नेपाली आरोही लाक्पा डेण्डी शेर्पा तथा चिनियाँ आरोही चाङ माओलिङ र लोरिकाशीले सगरमाथा आरोहणका अनुभव सहभागीहरूसँग साझा गरेका थिए।
सो अवसरमा नेपालको पर्यटकीय सम्भावना झल्काउने तस्बिर प्रदर्शनीसमेत आयोजना गरिएको थियो। कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका अधिकारी, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब २०० जनाको सहभागिता रहेको थियो।
नेपालबाट नेपाल पर्वतारोहण सङ्घ, आरोहण सञ्चालक सङ्घ, सगरमाथा आरोही सङ्घ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ तथा आरोहण र पदयात्रा क्षेत्रसँग सम्बन्धित दर्जनौँ कम्पनीका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमको अवसरमा नेपाल र चीनका पर्यटन उद्यमीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी–व्यवसायी (बीटुबी) नेटवर्किङ कार्यक्रमसमेत आयोजना गरिएको थियो।




तपाईको प्रतिक्रिया दिनुहोस