सेनाको मुख्यालयभित्रै पनि लोकतन्त्र माग्यौं, नोबेल सम्मेलनमा जेनजी अगुवा बमको गर्जन
नर्वेको ओस्लोमा आयोजित प्रतिष्ठित नोबेल शान्ति सम्मेलनमा जेनजी (Gen Z) अगुवा रक्षा बमले नेपालको युवा आन्दोलन र त्यसपछिको राजनीतिक परिदृश्यबारे प्रष्ट धारणा राखेकी छन्। उनले आन्दोलनका क्रममा आफूहरूले नेपाली सेनाको मुख्यालय (आर्मी हेडक्वार्टर) भित्रै प्रवेश गरेर लोकतन्त्रको माग गरेको खुलासा गरेकी छन्।
सम्मेलनमा बोल्दै अगुवा बमले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछिको अवस्था स्मरण गर्दै भनिन्, “सरकार ढलेपछि हामी प्रधानसेनापतिकहाँ गयौं। आर्मी हेडक्वार्टरभित्रै पनि हामीले लोकतन्त्रको माग गर्यौं। हामी लोकतन्त्रमा विश्वास गर्छौं, संविधानको पालना चाहन्छौं र राष्ट्रप्रति भरोसा राख्छौं। ‘हाम्रो राष्ट्रपति कहाँ हुनुहुन्छ? हामी उहाँसँग औपचारिक वार्ता गर्न चाहन्छौं’ भनेर अडान राख्यौं।”
उनले जेनजी आन्दोलनको उद्देश्यबारे स्पष्ट पार्दै भनिन्, “हामीले सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा र सामाजिक सञ्जाल बन्दको विरोधमा शान्तिपूर्ण आन्दोलन गरेका थियौं। तर, जनताले तिरेको कर कहाँ खर्च हुन्छ भनेर सरकारलाई सामान्य प्रश्न सोध्दा हामीले जवाफमा क्रूर दमन र टाउकोमा गोली थाप्नुपर्यो ।”
सरकारको दमनमा परी धेरै युवाले ज्यान गुमाएको र कतिपय साथीहरू अझै पनि ह्वीलचेयरमा जीवन बिताउन बाध्य रहेको उनले दुःख व्यक्त गरिन्।
आन्दोलनको उपलब्धिकारे बोल्दै उनले भनिन्, “आन्दोलनपछि हामीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्यौ । त्यसपछि अत्यन्तै निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भयो र अहिले निर्वाचित सरकार सत्तामा छ। यसरी हामीले देशको लोकतन्त्रलाई ट्र्याकमा फर्काएका छौं।”



तपाईको प्रतिक्रिया दिनुहोस