कर्णालीको प्लेअफ यात्रा सङ्कटमा
साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको लो-स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्र बनाएको थियो । सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर १०६ रनको लक्ष्य पूरा गर्यो । १९ रनमै ३ विकेट गुमाएर दबाबमा आएको लुम्बिनीको इनिङ्सलाई डार्शी सर्टले सम्हाले । सर्टले ३४ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाए (अर्धशतक बनाउनबाट ४ रनले चुके) । यस्तै, निरोशन डिकवेलाले १६ र अन्त्यमा दिलीप नाथले अविजित २८ रन (४ चौका) प्रहार गर्दै टोलीलाई जित दिलाए ।
बलिङमा कर्णालीका मार्क वाटले ४ ओभरमा १ मेडनसहित १२ रन मात्र खर्चेर उत्कृष्ट ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् । पवन सर्राफ र हुसेन तलतले १–१ विकेट लिएका थिए ।
यस जितसँगै ६ खेलबाट ९ अङ्क जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले अब लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
सुरुवाती दुई खेलमा लगातार जित निकालेको कर्णाली भने त्यसयताका चारवटै खेलमा पराजित हुन पुगेको छ । ६ खेलबाट ४ अङ्क मात्र जोडेको कर्णाली सातौँ स्थानमा झरेको छ ।
लगातारको हारसँगै कर्णालीको प्लेअफ सम्भावना अत्यन्तै कठिन बनेको छ । अव कर्णालीले आफ्नो अन्तिम खेल जितेर मात्र पुग्ने छैन, अन्य टिमहरूको नतिजा र नेट रनरेटमा समेत भर पर्नुपर्ने स्थिति छ ।



तपाईको प्रतिक्रिया दिनुहोस