अनुदान मिलाउने भन्दै करोडौँ ठगी गर्ने दुई जना पक्राउ
सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँगको चिनजान देखाएर कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभनमा पार्दै करोडौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन्।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले पीडितहरूलाई सरकारी मन्त्रालयमा पहुँच भएको विश्वास दिलाई विभिन्न बहानामा पटक-पटक गरी जम्मा ५ करोड ८० लाख रूपैयाँ ठगी गरेको खुलेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले ठगी कसुरमा थप अनुसन्धान अगाडि बढाइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस