चार हजार पदका लागि एक लाखभन्दा बढी आवेदन
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी माग गर्दा अपेक्षाभन्दा धेरै दरखास्त परेका छन्।
कार्यालयले माघ १ गतेदेखि ५२६ सुपरिवेक्षक र ३ हजार ९१३ गणक गरी कुल ४ हजार ४३९ जनाका लागि आवेदन आह्वान गरेको थियो। बुधबारसम्म १ लाख १३ हजार ३५० जनाले आवेदन दिएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए।
अनलाइन प्रणालीमार्फत सिधै आवेदन दिन सकिने व्यवस्था भए पनि अत्यधिक चापका कारण सर्भरमा ‘ओभरक्राउड’ भई सबै दरखास्त समयमै दर्ता हुन नसकेको उनले बताए।
यसै कारण आवेदन दिने समय थपिएको कार्यालयले जनाएको छ। सुरुमा माघ २२ गतेसम्मको म्याद तोकिएको भए पनि पाँच दिन थप गरी माघ २६ गतेसम्म पुर्याइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले करिब साढे दुई महिनाका लागि कर्मचारी करारमा नियुक्त गर्न लागेको हो। यसअन्तर्गत सुपरिवेक्षकको मासिक तलब ३४ हजार ७३० रुपैयाँ र गणकको ३२ हजार ९०२ रुपैयाँ निर्धारण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस