Techie IT
२०८३ श्रावण २२, शुक्रबार

युवालाई स्वदेशमै जोड्ने लक्ष्यसहित त्रिविबाट ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ


नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ। 

“राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका” भन्ने मूल नाराका साथ त्रिभुवन विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रमका माझ यस राष्ट्रिय अभियानको थालनी गरिएको हो। विकसित मुलुकमा आर्थिक समृद्धिको मुख्य आधार नवप्रवर्तन र स्टार्टअप रहेकाले नेपालमा पनि सोहीअनुरुप उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

बढ्दो प्रतिभा पलायनलाई रोकेर युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई स्वदेशमै सदुपयोग गर्नु यस अभियानको प्रमुख ध्येय रहेको छ। अभियानमार्फत विद्यार्थी, युवा तथा व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई व्यवसाय दर्ता प्रक्रिया, योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार तथा जोखिम व्यवस्थापनबारे व्यावहारिक जानकारी प्रदान गरिनेछ। 

पहिलो चरण त्रिविबाट सुरु गरिएको यो अभियान आगामी दिनमा देशका अन्य विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशका ७७ वटै जिल्लामा विस्तार गरिनेछ। सरकार, विश्वविद्यालय, निजी क्षेत्र र वित्तीय संस्थाहरूसँगको सहकार्यमा सशक्त स्टार्टअप इकोसिस्टम विकास गर्ने लक्ष्य राखिएको छ।

त्रिभुवन विश्वविद्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा त्रिवि उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारीमुखी मात्र नभई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, समिटकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा युवा पलायनलाई अवसरमा रूपान्तरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताइन्। 

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार रौनियारले सफल व्यवसायका लागि ठूलो पुँजीभन्दा पनि सही सोच र निरन्तर मिहिनेत आवश्यक हुने बताए। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केर स्टार्टअप कर्जाको उपयोग गरी सफल व्यवसाय स्थापना गरेका उद्यमीको प्रेरणादायी वृत्तचित्र प्रदर्शन गरिनुका साथै विद्यार्थीहरूको जिज्ञासामाथि अन्तरक्रियासमेत गरिएको थियो। स्टार्टअप समिट नेपाल–२०२६ र नीति रिसर्चले त्रिवि केन्द्रीय व्यवस्थापन विभागको सहकार्यमा यो दीर्घकालीन राष्ट्रिय अभियान सञ्चालन गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट