हुम्लामा भारतीय पर्यटकको ओइरो
पर्यटकीय सिजन सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट र हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ। चालु सिजनमा मात्रै हवाई मार्ग हुँदै हुम्ला भित्रिने भारतीय धार्मिक पर्यटकको सङ्ख्या ३ हजार ७०० नाघिसकेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार गत वैशाख ३० गतेदेखि सुरु भएको यो सिजनमा हालसम्म ३ हजार ७८० जना भारतीय पर्यटक नेपालगञ्ज-सिमकोट-हिल्सा हुँदै चीनको ताक्लाकोटतर्फ प्रस्थान गरिसकेका छन्। आगमन गर्नेहरूमा १ हजार ८९२ महिला र १ हजार ८८८ पुरुष रहेका छन्।
अहिले दैनिक ८० देखि २०० जनासम्म भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला ओर्लिने गरेका छन्। पर्यटकको यो ओइरोसँगै सिमकोट र मानसरोवर आसपासका होटल तथा रिसोर्टहरू शतप्रतिशत भरिभराउ भएका छन्।
पर्यटक आगमनमा भएको यो वृद्धिसँगै स्थानीय होटल व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार आएको छ। पर्यटनकै कारण सिमकोटमा उत्पादित स्थानीय कृषिउपजले राम्रो बजार पाउन थालेको छ भने सिमकोट विमानस्थलदेखि होटलसम्म पर्यटकका सरसामान ओसार्न ३० भन्दा बढी स्थानीय भरियाले रोजगारी पाएका छन्।
यात्रुको चाप बढेपछि नेपालगञ्ज-सिमकोट र सिमकोट-हिल्सा उडानमा एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई भ्याइनभ्याइ छ। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहका अनुसार अहिले तारा एयरको एउटा, सीता एयरका दुई र समिट एयरका तीन गरी ६ वटा विमानले बिहान ७:०० बजेदेखि अबेरसम्म नेपालगञ्ज–सिमकोट उडान भरिरहेका छन्।
त्यस्तै, सिमकोटबाट चीनको सीमावर्ती क्षेत्र हिल्सासम्म पर्यटक ओसार्न ६ वटा हेलिकप्टरले बिहान ६:३० बजेदेखि साँझ ७:०० बजेसम्म निरन्तर उडान गरिरहेका छन्। हेलिकप्टर र ट्विनअटर विमानको लगातारको उडानले गर्दा सिमकोट विमानस्थलमा कतिपय अवस्थामा 'हवाई ट्राफिक जाम' समेत हुने गरेको छ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार मानसरोवर कैलाशको दर्शन गर्ने उपयुक्त समय भएकाले भारतीय पर्यटक आउने क्रम अभूतपूर्व रूपमा बढेको हो। पर्यटकको यो चहलपहलले सदरमुकाम सिमकोट मात्र नभई सीमावर्ती व्यापारिक नाका हिल्साको आर्थिक गतिविधि समेत चलायमान बनाएको छ, जसबाट होटल व्यवसायी र स्थानीय मजदुरहरू प्रत्यक्ष लाभान्वित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस