Techie IT
२०८२ जेष्ठ १८, आइतबार

गणतन्त्रको विकल्प छैन : मुख्यमन्त्री कँडेल


सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नरहेको स्पष्ट पारेका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्रलाई थप मजबुत बनाउन सबैले आफ्नो कार्यशैली, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

मुख्यमन्त्री कँडेलले भने, “जुनसुकै शासन प्रणालीलाई संस्थागत र सुदृढ बन्न समय लाग्छ । यस क्रममा कमजोरीहरू देखिन सक्छन्, अपेक्षा पूरा नहुँदा टीकाटिप्पणी हुन सक्छ, तर त्यसलाई व्यवस्थामाथि प्रश्न उठाउने आधार बनाउन मिल्दैन ।”

उनले पुरानो व्यवस्थातर्फ फर्काउने असंवैधानिक प्रयासहरू स्वीकार्य नहुने भन्दै गणतन्त्रको जगलाई अझ बलियो बनाउनु पर्नेमा जोड दिए । “इतिहासको गति अब कसैले पनि पछाडि फर्काउन सक्दैन,” उनले भने ।

गणतन्त्रको सारतत्त्व सामाजिक न्याय, सुशासन र समृद्धिको समुचित सन्तुलनमा रहेको बताउँदै मुख्यमन्त्री कँडेलले जातीय श्रेष्ठताको आधारमा हुने विभेद अन्त्य गरी सबै नागरिक समान हैसियतमा स्थापित हुनु गणतन्त्रको महत्वपूर्ण विशेषता भएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले भने “यस युगान्तकारी परिवर्तनलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकियो भने मात्र गणतन्त्र दिगो र प्रभावकारी हुन्छ ।”

प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट प्राप्त सफलताको प्रतीक भएको उल्लेख गर्दै उनले सबै नेपालीलाई राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र सामाजिक न्यायसहितको समृद्धिको दिशामा अगाडि बढ्न प्रेरित गर्नुपर्ने विश्वास व्यक्त गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट