Techie IT
२०८३ असोज ३, शनिबार

नेतृत्वको विकल्प र प्रतिवेदन विवादले एमालेभित्र चर्कियो ध्रुवीकरण


नेकपा (एमाले) भित्र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। 

पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन मस्यौदा प्रस्तुत गरेपछि एमाले पंक्ति दुई ध्रुवमा बाँडिएको छ। विवाद समाधानका लागि भएका शीर्ष तहका छलफलहरू निष्कर्षविहीन बन्दा पार्टीभित्र गम्भीर संकट देखापरेको छ।

महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टी पुनर्गठन र वर्तमान मुख्य नेतृत्वको बहिर्गमनलाई अपरिहार्य निकासका रूपमा औंल्याइएको छ। तर, उपाध्यक्ष बादलले प्रस्तुत गरेको विपरीत प्रतिवेदनमा मूल नेतृत्व परिवर्तन गर्न नहुने र त्यसका विरुद्ध उभिनुपर्ने जिकिर गरिएको छ।   

अध्यक्ष ओलीले निवास गुण्डुमा बोलाएको छलफलका क्रममा पोखरेलको प्रतिवेदनमा समेटिएका ‘पुनर्गठन’ र ‘मार्गप्रशस्त’ जस्ता शब्दहरू अस्वीकार्य रहेको भन्दै प्रतिवेदन फिर्ता लिन कडा दबाब दिएका छन्। जवाफमा महासचिव पोखरेलले संस्थागत पद्धति र लोकतान्त्रिक मूल्यको वकालत गर्दै पार्टीभित्र कसैको हुकुमी शैली नचल्ने स्पष्ट पार्दै अध्यक्षको प्रतिवाद गरेका छन्।   

नेतृत्वले कुर्सी छाड्न नचाहेको भन्दै पार्टीभित्र दबाब बढिरहेका बेला ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पार्टी एकताको कार्ड फाल्ने तथा प्रतिवेदन फिर्ता नलिए छुट्टै राजनीतिक कदम चाल्ने सम्मका रणनीतिक चेतावनी दिन थालेको स्रोतको दाबी छ। यद्यपि, एमाले सचिव महेश बस्नेतले यी सबै समाचार र हल्लाहरू पार्टीलाई कमजोर बनाउने नियोजित भ्रम मात्र भएको दाबी गर्दै आगामी असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट पार्टी थप मजबुत भएर निस्कने बताएका छन्।

कार्यदलभित्र सहमति जुटाउन भइरहेका प्रयासहरू असफल भएपछि आगामी केन्द्रीय कमिटी बैठकमा दुवै प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ। यसले नै एमालेको आगामी राजनीतिक दिशा र नेतृत्वको भविष्य निर्धारण गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट