आज एमालेका लगातार तीनवटा बैठक बस्दै, ओलीको राजीनामाको विषयले बढ्दै छ गर्मागर्मी
नेकपा एमालेले आजबाट एकैसाथ तीनवटा महत्वपूर्ण बैठकहरू आह्वान गरेको छ। पार्टीका आन्तरिक विवाद, निर्वाचन समीक्षा र पुनर्गठनको एजेन्डालाई टुंगो लगाउन एमालेले आजदेखि लगातार बैठकहरू सुरु गरेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ भने दिउँसो १ बजे पार्टी सचिवालय बैठक डाकिएको छ। दुवै बैठक पार्टी मुख्यालय च्यासलमा तय भएका छन्। आजको बैठकमा कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी गरेको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल' को संयोजकत्वमा गठित कार्यदलभित्रै संयोजक बादल र महासचिव शंकर पोखरेलबीच फरक-फरक दुईवटा प्रतिवेदन बनेपछि पार्टीभित्र विवाद चुलिएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा चुनावी हारको मुख्य जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको छ भने उपाध्यक्ष थापाको प्रतिवेदनमा भने अध्यक्ष ओलीको कडा बचाउ गरिएको छ।
विवाद बढेपछि उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गरी साझा प्रतिवेदन तयार पार्न जिम्मा दिइएको थियो। आज बस्ने सचिवालय बैठकमा यही एकीकृत प्रतिवेदन र आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डाहरूमाथि विस्तृत छलफल हुनेछ।
सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकको समेत टुंगो लगाउनेछ। एमालेको केन्द्रीय कमिटी बैठक यही असोज ५ देखि ७ गतेसम्म ललितपुरको रामबाग महल, भनिमण्डलमा बस्ने तय भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस