सानोठिमी खुकुरी आक्रमण : ज्यान मार्ने उद्योग अभियोगमा चक्रे मिलनमाथि अनुसन्धान सुरू

गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले समेत अनुसन्धान अघि बढाउने भएको छ।
एक वर्षअघिको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा चक्रेमाथि अनुसन्धान गर्न लागिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।
प्रहरी वृत्त थिमिमा परेकाे जाहेरीअनुसार २०८१ साल भदौ १० गते सानोठिमीस्थित दिव्यशज्रीमा रहेको ‘बड्डाको तावा रेस्टुरेन्ट’ मा चक्रे मिलन समूहले आक्रमण गरेको आरोप छ। आक्रमणमा घाइते भएका मनिष रायमाझीका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए।
जाहेरीमा सर्लाही हरिवन–४ घर भएका अजित खवाससहित केही व्यक्तिले खुकुरी प्रहार गरी रायमाझीलाई दुबै कोखमा गम्भीर घाइते बनाएको उल्लेख छ।
घटनापछि प्रहरीले अजित खवासलाई पक्राउ गरी मुद्दा चलाए पनि, चक्रे मिलनको वतन खुल्न नसकेको भन्दै उनलाई प्रतिवादीमा समावेश गरिएको थिएन। अहिले भने सोही मुद्दामा चक्रेविरुद्ध अनुसन्धान थालिने भएको हो।
हाल चक्रे मिलन जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्। बिहीबार राति महाराजगञ्जस्थित होटल साम्बालामा बर्थडे पार्टी भइरहँदा प्रहरीले उनलाई ४७ जनासहित पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये १९ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ। काठमाडौं परिसरको अनुसन्धान सकिएपछि चक्रेविरुद्ध भक्तपुर प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।
यद्यपि, उक्त आक्रमणमा चक्रे स्वयम् संलग्न थिए वा थिएनन् भन्ने पुष्टि भइनसकेको जनाइएको छ । तर, घटनाको योजना उनले बनाएको दाबी पीडित पक्षले गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस