Techie IT
२०८३ असोज २८, बुधबार

साउदीको राष्ट्रिय तेल कम्पनीको मुख्यालयमै हुथीको बलिस्टिक मिसाइल प्रहार


साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी 'अरामको'को पूर्वी सहर धरानस्थित केन्द्रीय मुख्यालयमा यमनका हुथी विद्रोहीहरूले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेका छन्। अरामको कम्प्लेक्सभित्र रहेको मुख्य प्रशासनिक भवनको माथिल्लो तलामा क्षेप्यास्त्र ठोक्किएपछि ठूलो आगलागी भएको छ।

साउदी ऊर्जा मन्त्रालय र साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार मङ्गलवार भएको उक्त आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइसकिएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको मन्त्रालयले जनाएको छ। अरामको विश्वकै ठूला तेल उत्पादकमध्ये एक हो र धरानस्थित यो कम्प्लेक्स कम्पनीको मुख्य सञ्चालन केन्द्र मानिन्छ।

आक्रमणअघि हुथी विद्रोहीहरूले साउदी अरेबियाका तेल पूर्वाधारहरूलाई ‘वैध सैन्य निशाना’ घोषणा गर्दै त्यहाँ कार्यरत कर्मचारी तथा सर्वसाधारणलाई तत्काल ती क्षेत्र छाड्न चेतावनी दिएका थिए।

हुथी प्रवक्ता याह्या सारेईका अनुसार साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानास्थित हुथी नियन्त्रित ‘यमन आयल कम्पनी’को अल–सबाह केन्द्रीय इन्धन केन्द्र खाली गर्न दिएको आदेशको जवाफमा यो कदम चालिएको हो। सारेईले सानामाथि हुने कुनै पनि आक्रमणको बदला साउदी राजधानी रियाधमा ‘कडा र पीडादायी’ प्रहार गरेर लिने चेतावनी दिएका थिए।

अरामको मुख्यालयमा आक्रमण हुनुभन्दा केही घण्टाअघि साउदी सेनाले राजधानी रियाधसहित विभिन्न क्षेत्रलाई लक्षित गरी प्रहार गरिएका अन्य क्षेप्यास्त्रहरूलाई आफ्नो हवाई रक्षा प्रणालीमार्फत आकाशमै निष्प्रभावी पारिदिएको थियो।

भग्नावशेष खस्दा रियाधमा चार जना सर्वसाधारण घाइते भएका छन् भने १५ वटा घरमा क्षति पुगेको साउदी नागरिक प्रतिरक्षा प्रवक्ताले जानकारी दिएका छन्। हुथीको चेतावनी र आक्रमणलगत्तै साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानास्थित अल–सबाह इन्धन डिपोमा हवाई हमला गरेको छ। यसका साथै साउदी वायुसेनाले रस इसा बन्दरगाह र होदैदा प्रान्तमा रहेका तेल भण्डारण केन्द्रहरूमा समेत भीषण बम्बार्डिङ गरेको छ।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मालिकीले हुथीहरूले इन्धन डिपो तथा भूमिगत भण्डारहरूलाई आफ्ना मिसाइल र ड्रोन भण्डारण गर्ने सैन्य अखडाका रूपमा प्रयोग गर्दै आएको आरोप लगाएका छन्।

यसैबिच, हुथी विद्रोहीहरूले अरामको मुख्यालय, रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र रियाधमा रहेको अरामकोको अर्को रिफाइनरी क्षेत्रसमेत तत्काल खाली गर्न सर्वसाधारणलाई पुनः चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट