दीपक मनाङे प्रदेश सभा सदस्यबाट पदमुक्तहुनुका कानुनी आधारहरू
यस फैसलाले निर्वाचन जिते पनि फौजदारी मुद्दाको अन्तिम सजायले जनप्रतिनिधिको पदमा प्रत्यक्ष असर गर्ने नजिर स्थापित गरेको कानुन व्यवसायीहरूले बताएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई पदमुक्त गर्ने फैसला सुनाएको छ। ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्चको संयुक्त इजलासबाट भएको अन्तिम फैसलाले उनी प्रदेशसभा सदस्य पदमा रहिरहन अयोग्य भएको ठहर गर्दै संवैधानिक इजलासले पदमुक्त गरेको हो।
अधिवक्ता वीरेन्द्रराज कार्कीले मनाङे फौजदारी अभियोग लागेका कारण उम्मेदवार बन्न अयोग्य भएको भन्दै २०७९ पुस ११ गते निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. कुमार चुडालको संवैधानिक इजलासले गरेको फैसलामा मनाङेको योग्यता अन्तिम सजाय तोकिएपछि गुमेको स्पष्ट पारिएको छ।
पदमुक्त हुने आधार
सर्वोच्चले दीपक मनाङेको पदमुक्त हुने मुख्य आधारका रूपमा २०८१ कात्तिक २० गते संयुक्त इजलासले सुनाएको ५ वर्ष कैद सजायलाई मानेको छ। उक्त फैसलाअनुसार मनाङे प्रदेशसभा सदस्य बन्ने योग्यता गुमाएका ठहर गरिएको हो। संविधानको धारा १७८ (१)(ङ) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (छ) अनुसार, पाँच वर्ष वा सोभन्दा बढी कैद सजाय भुक्तान गरी छ वर्ष नपुगेका व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य मानिन्छ। यस आधारमा मनाङे अब थप ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन सक्ने छैनन्।
सर्वोच्चले संविधानको धारा १८० (ख) अनुसार प्रदेशसभा सदस्यको योग्यता नरहेमा पद स्वतः रिक्त हुने व्यवस्था भएकाले मनाङेको पद स्वतः रिक्त भएको स्पष्ट पारेको छ।
मनाङेले २०६१ मा चक्रे मिलन समूहमाथि आक्रमण गरेको अभियोगमा मुद्दा खेपेका थिए। उच्च अदालत पाटनले सो मुद्धामा उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, जसलाई २०८१ कात्तिक २० मा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको थियो। सो फैसलाबाटै सर्वोच्चको संवैधानिक इजलासले गत असार ४ गते राजीव गुरुङ अर्थात् दीपक मनाङे गण्डकी प्रदेशसभाको पदबाट पदमुक्त हुने फैसला सुनाएको थियो।
सर्वोच्चले दोस्रो आधारका रूपमा संविधान र कानूनी व्यवस्थालाई टेकेर फैसला गरेको छ। नेपालको संविधानको धारा १७८ (१)(ङ) अनुसार प्रदेशसभा सदस्य हुन "कुनै कानुनले अयोग्य नभएको" हुनुपर्ने व्यवस्था छ। त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (छ) अनुसार पाँच वर्ष वा सोभन्दा बढी कैद सजाय पाएका र सजाय भुक्तान गरेको मितिदेखि छ वर्ष नपुगेका व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छन्। अदालतले सो कानूनी आधारमा मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।
सर्वोच्चले तेस्रो आधारमा पनि प्रदेशसभा सदस्यको योग्यताको विषयमा संविधानको धारा १७८ र १८० (ख) अनुसार आदेश जारी गरेको छ। अन्तिम सजाय तोकिएपछि मनाङेमा उक्त योग्यता नरहेकाले उनको पद स्वतः रिक्त भएको फैसलामा उल्लेख गरिएको छ।
त्यसैगरी, प्रदेशसभाका सदस्यका लागि प्रचलित कानूनअनुसार उम्मेदवारको योग्यताको विषय दफा १२ र अयोग्यताको विषय दफा १३ मा स्पष्ट उल्लेख भएको छ। सर्वोच्चले यी प्रावधानहरूको आधारमा आदेश जारी गरेको हो।
मनाङेको तर्क अस्वीकृत
मनाङेले आफ्नो लिखित जवाफमा, उम्मेदवारी दिँदा मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले अन्तिम फैसला नभएको दाबी गरेका थिए। उनले पुनरावलोकनको विकल्प बाँकी रहेको भन्दै अयोग्य नठहराउन आग्रह गरेका थिए। तर, सर्वोच्चले पुनरावलोकनलाई ‘असाधारण उपाय’ मात्र मान्दै अन्तिम फैसलाको प्रभावलाई रोक्ने आधार नभएको ठहर गर्यो।
कहिलेदेखि पदमुक्त?
सर्वोच्चले २०८१ मंसिर २० गतेदेखि नै मनाङे प्रदेशसभा सदस्य पदबाट पदमुक्त हुने निर्णय गरेको छ। उनी हाल डिल्लीबजार कारागारमा छन्। सर्वोच्चले सो मितिदेखि पद रिक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न समेत आदेश दिएको छ।
यस फैसलाले निर्वाचन जिते पनि फौजदारी मुद्दाको अन्तिम सजायले जनप्रतिनिधिको पदमा प्रत्यक्ष असर गर्ने नजिर स्थापित गरेको कानुन व्यवसायीहरूले बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस