कुन कसुरमा बालेन र सुदनविरुद्ध निवेदन दियो एमाले अखिलले ?
उजुरीमा मेयर शाह र गुरुङमाथि मुलुकी अपराध संहिता ऐनको दफा ५६ अन्तर्गत ‘राज्यविरुद्ध जासुसी’ गरेको आरोप समेत लगाइएको छ

काठमाडौँका मेयर बालेन शाह र ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङविरुद्ध एमाले निकट अखिल (अनेरास्ववियु) ले प्रहरीमा दिएको उजुरीमा उनीहरूलाई विभिन्न कानुनी धारामा टेकेर कारबाहीको माग गरिएको छ।
अनेरास्ववियु पूर्वअध्यक्ष समिक बडालका अनुसार उजुरीमा मेयर शाह र गुरुङले मुलुकी अपराध संहिता ऐन २०७४ का दफा १७७, १७८, २४४, र २८५ (२) को उपदफा (क) विपरीत कार्य गरेको आरोप लगाइएको छ।
दफा १७७ ज्यानसम्बन्धी कसुर हो भने दफा १७८ ले ज्यान जान सक्ने गरी उक्साउने कार्यलाई निषेध गरेको छ। अनेरास्ववियुका निवेदकहरूले मेयर शाह र गुरुङकै उक्साहटमा प्रहरीको ज्यान जाने अपराध भएको दाबी गरेका छन्।
त्यस्तै, उनीहरूले दफा २४४ बमोजिम पनि कारबाहीको माग गरेका छन्। उक्त दफा चोरी–डकैतीसँग सम्बन्धित छ। अनेरास्ववियुका अनुसार शाह र गुरुङकै उक्साहटमा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र लुटपाट भएको हो।
महासचिव दीपक धामीका नाममा दर्ता गरिएको उजुरीमा मेयर शाह र गुरुङमाथि मुलुकी अपराध संहिता ऐनको दफा ५६ अन्तर्गत ‘राज्यविरुद्ध जासुसी’ गरेको आरोप समेत लगाइएको छ। उजुरीमा उनीहरूले राज्यका गोप्य तथ्यांक माग गरी जासुसी गरेको उल्लेख छ।
पूर्वअध्यक्ष समिक बडालका अनुसार उनिहरुले बालेन र सुदन विरुद्ध राज्यविरुद्ध जासुसी गरेको भन्दै कारबाहीको माग गरेका छन् । बडालले भने, ‘उजुरीमा उल्लिखित अन्य विषयहरू जाँचबुझ आयोगमार्फत छानबिन होस् तर राज्यविरुद्धको जासुसी प्रकरणमा भने प्रहरीबाटै अनुसन्धान हुनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ।’
यस्तै, दफा २८५ को उपदफा (२) अनुसार पनि कारबाही माग गरिएको छ। उक्त प्रावधानअनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्वमा रहेका संस्थामा हानि–नोक्सानी पुर्याउने, आगजनी वा तोडफोड गर्न उक्साउने कार्य दण्डनीय मानिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस