Techie IT
२०८२ असोज २७, सोमबार

पूर्वसभामुख महरालाई आज अदालतमा उपस्थित गराउने


पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट उनलाई पक्राउ गरेको थियो। इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएका सुनको अनुसन्धानका क्रममा महरालाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

महरालाई म्याद थपका लागि प्रहरी र सरकारी वकिल कार्यालयले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ। एसएसपी श्रेष्ठले भने, “हामी कानुन बमोजिम अनुसन्धान अघि बढाउँछौँ।”

सीआईबीले महरालाई यसअघि २०८० साल चैत ५ गते पनि पक्राउ गरेको थियो। त्यसबेला बयान प्रक्रिया सकेर उनी हाजिर जमानीमा रिहा भएका थिए।

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुनः पक्राउ परेका हुन्।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणका लागि बनेको जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा संलग्न ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनका आधारमा सीआईबीले माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराविरुद्ध थप अनुसन्धान गरी ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ नागरिक दाओजिन वाङसँग महराको सम्बन्ध देखिएपछि आयोगले उनलाई संगठित तस्करीको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

महराले यसअघिको बयानमा वाङसँग चिनजान रहेको स्वीकार गरे पनि कारोवार नगरेको दाबी गरेका थिए। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार महराले भनेका थिए, “दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन।”

चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएका ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि महरा र उनका छोरा राहुलले उक्त भेप छुटाउन भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट