सर्वोच्चमा अन्तरिम सरकार र संसद् विघटनविरुद्ध रिटको ओइरो, ६ रिट दर्ता

अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदन दर्ता हुन थालेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार हालसम्म ६ वटा रिट निवेदन दर्ता भइसकेका छन् भने थप निवेदनहरू पनि दर्ता हुने क्रममा छन्।
‘तीमध्ये केही रिटमा अन्तरिम सरकार गठनको प्रक्रियामाथि प्रश्न उठाइएका छन् भने केहीमा प्रतिनिधिसभा विघटनविरुद्ध माग गरिएको छ,’ प्रवक्ता कोइरालाले भने, ‘लगातार रिट दर्ता भइरहेको हुँदा कुन–कुन रिटमा कस्तो माग गरिएको हो भन्ने विषयमा अझै यकिन गर्न बाँकी छ।’
गत भदौ महिनामा जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण सर्वोच्च अदालतको भवन क्षतिग्रस्त भएपछि अदालतको कामकारबाही प्रभावित भएको थियो। गत आइतबार बसेको सर्वोच्चको पूर्ण बैठकले रिट निवेदन दर्ता प्रक्रिया खुला गर्ने निर्णय गरेपछि पुनः दर्ता सुरु भएको हो।
भदौ २३ र २४ गतेको जेन–जी युवा प्रदर्शनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको र त्यसपछि संसद् विघटन गरिएको थियो। त्यसपछि जेन–जी युवा प्रतिनिधिको सिफारिसका आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी थिइन्। कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराउने म्यान्डेट पाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस