Techie IT
२०८२ असोज ३०, बिहीबार

जेन–जी आन्दोलनमा सिंहदरबार आगजनीमा ५३ हजार अंगीकृत नागरिकताको अभिलेख नष्ट


जेन–जी आन्दोलनपछि भदौ २४ गते सिंहदरबारमा भएको आगजनीमा परेर गृह मन्त्रालयमा रहेका ५३ हजार अंगीकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको छ।

गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यका अनुसार, “अंगीकृत नागरिकताको अभिलेख मन्त्रालयमा थियो। नयाँ दरखास्त दिनेदेखि प्रारम्भिक अभिलेखहरू सबै जले,” उनले बताए।

नागरिकता महाशाखाका अनुसार हालसम्म झन्डै ५३ हजार जनाले अंगीकृत नागरिकता प्राप्त गरेका थिए। तीमध्ये १७ हजार व्यक्तिको विवरण स्क्यान गरेर कम्प्युटर हार्डड्राइभमा राखिएको थियो। तर आगजनीमा ल्यापटप, कम्प्युटर र सबै उपकरण ध्वस्त भएसँगै स्क्यान गरिएका विवरण समेत नष्ट भएका छन्।

महाशाखा प्रमुख सुरेश पन्थीले भने, “अंगीकृत नागरिकताको विवरण अहिलेसम्म डिजिटाइज गरिएको थिएन। डिजिटाइज प्रक्रिया अन्तर्गत १७ हजार विवरण मात्र स्क्यान भइसकेका थिए। तर प्रणालीमा राखिएको थिएन, हार्डड्राइभसहित सबै नष्ट भयो।”

अंगीकृत नागरिकताको विवरण सरकारको एकीकृत डेटा व्यवस्थापन केन्द्र (GIDC) मा राखिएको थिएन। जिल्लाबाट वितरण हुने नागरिकताको विवरण भने सिटिजनसिप म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (CIMS) मार्फत एकीकृत डेटा व्यवस्थापन केन्द्रमा सुरक्षित रहन्छ। तर अंगीकृत विवरण गृह मन्त्रालयमै सीमित थियो।

जलेपछि नागरिकताको प्रतिलिपी निकाल्ने र परिवारका सदस्यलाई नागरिकता दिने काम प्रभावित हुने देखिएको छ। तर गृह मन्त्रालयले नागरिकताको काम निरन्तर राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई अंगीकृत नागरिकताको विवरण जलेको जानकारीसहित कार्यविधि पठाएको छ।

सहायक प्रवक्ता आचार्यले भने, “हामीले असोज २० गते सबै ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेका छौँ। डिजिटाइज भएका विवरण र भौतिक कागजात जलेको स्पष्ट उल्लेख गरिएको छ। सेवा प्राप्त गर्न आएका नागरिकलाई कसरी प्रतिलिपी निकाल्ने वा परिवार सदस्यको नागरिकता दिने भन्ने प्रक्रिया पनि परिपत्रमा समावेश छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट