Techie IT
२०८२ माघ १७, शनिबार

पृथ्वीराजमार्गमा विद्युतीय माइक्रो डिभाइडरमा ठोक्कियो


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–१ स्थित सत्र सय क्षेत्रमा आज साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा प्र ०१–००२ज ८५१८ नम्बरको विद्युतीय माइक्रो अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर, चार जनाको मध्यम रहेको र अन्य यात्रु सामान्य अवस्थामा रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा माइक्रो चालक काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरेगुफा निवासी २१ वर्षीया अन्जली पुन छन्। चालक कुँवरको पेट र छातीमा भित्री चोट लागेको छ भने अन्जली पुनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेकी छन्। दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।

मध्यम घाइते हुनेहरूमा रौतहट माधवनारायण नगरपालिका–१ निवासी १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर निवासी २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ निवासी २३ वर्षीय राज बलामी (सहचालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ निवासी २० वर्षीया इच्छा लिम्बू रहेका छन्।

उनीहरू सबै बोल्न सक्ने अवस्थामा रहेको र आवश्यक उपचार भइरहेको प्रहरीले जनाएको छ। सहचालक बलामीलाई पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। घाइतेहरूको प्रारम्भिक उपचार आबुँखैरेनी अस्पतालमा गरिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट